६ असोज २०८२ सोमबार | 22 Sep 2025 Mon

चाडपर्व मनाउन राजधानीबाट पाँच दिनमा बाहिरिए एक लाख ८९ हजार



  • आफ्नै खबर
  • ६ असोज २०८२ सोमबार (३ घण्टा अघि)
  • पाठक संख्या ४६
  • काठमाडौँ/  काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार जना बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार तीन सय ६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

    कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुङले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिनुभयो । उहाँका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् ।

    कार्यालयका अनुसार असोज १ गते ३४ हजार पाँच सय ५६, असोज २ गते ३६ हजार एक सय, असोज ३ गते ४० हजार पाँच सय ५५, असोज ४ गते ३४ हजार आठ सय ७९ र असोज ५ गते ४३ हजार एक सय २४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

    यस वर्ष सडकको दुरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बर्सातका कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको बताउनुभयो ।

    महासचिव गौतमले भन्नुभयो, ‘मुग्लिङ-नारायणघाट सडकखण्डमा पहिरो जाँदा घन्टौँसम्म बस बाटोमा रोकिएका छन् । जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ ।’ अवरुद्ध राजमार्ग समयमै सञ्चालन गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

    पछिल्ला दिनमा काठमाडौँ गोङ्गबुस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कमा समेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार अन्य समयको तुलनामा नयाँ बसपार्कबाट घर जाने यात्रुको सङ्ख्या बढेको छ ।

    उहाँका अनुसार अन्य समय चार पाँच हजार हाराहारीमा यात्रु नयाँबसपार्कबाट बाहिरिने गरेकोमा अहिले उक्त सङ्ख्या बढेर दैनिक १५ हजारभन्दा बढी पुगेको छ ।

    –रासस