६ असोज २०८२ सोमबार | 22 Sep 2025 Mon

टोल-टोलमा ‘कृषि उपज सङ्कलन केन्द्र’



  • आफ्नै खबर
  • ६ असोज २०८२ सोमबार (३ घण्टा अघि)
  • पाठक संख्या ५४
  • भोजपुर/  रामप्रसादराई गाउँपालिका-६ बैकुण्ठेले कृषि सङ्कलन केन्द्रका लागि टोल-टोलमा भवन निर्माण थालेको छ । टोलस्तरमा उत्पादन भएका रैथाने तथा कृषि उपजको सङ्कलन गरेर बजारीकरण गर्ने लक्ष्यले टोल भवन निर्माण थालेको हो । 

    वडाका टोलस्तरमा रहेका विभिन्न कृषि उपज सङ्कलन गरेर बजारसम्म लैजाने उद्देश्यले भवन निर्माण भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । वडाले ‘बैकुण्ठेको कृषि उत्पादन, काठमाडौँको भान्सामा’ भन्ने नाराका साथ काम गरिरहेकोले कृषि उपजको सङ्कलनको लागि भवन निर्माण गरिएको उहाँको भनाइ छ । 

    नवनिर्मित भवनमा स्थानीयवासी भेला भएर आवश्यक छलफल, बैठकलगायतका कार्यक्रमसमेत गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

    ‘कृषि उपजको सङ्कलन केन्द्रको रुपमा विकास गर्न ‘एक टोल एक भवन’ निर्माणको अवधारणा लिएका छौँ’, वडाध्यक्ष आचार्यले भन्नुभयो, ‘गाउँ-गाउँमा सङ्कलन भएका कृषि उपजलाई भेला गरेर बजारसम्म पुर्याउने लक्ष्य छ । त्योसँगै स्थानीयले टोलका आवश्यक बैठक, भेला पनि यहाँबाट सञ्चालन गर्न सक्छन् ।’

    यहाँ निर्माण भएका भवनलाई वडाको उपकृषि सङ्कलन केन्द्रको रुपमा विकास गरिने वडाध्यक्ष आचार्यले बताउनुभयो । 

    टोल भवन निर्माणले गाउँघरमा हुने भेला, बैठक सञ्चालनमा सहजता भएको स्थानीयवासी रामकुमार राईले जानकारी दिनुभयो । भवनबाट टोलस्तरमा उत्पादन भएका कृषि उपजहरूको सङ्कलन गरेर बेचबिखन गर्न सक्ने वातावरण बनेको उहाँको भनाइ छ ।

    ‘टोल भवन नहुँदा हामीलाई धेरै समस्या थियो’, उहाँले भन्नुभयो, ‘भवन अभावमा भेला बैठक सडकमा बस्नुपर्ने अवस्था थियो । घाम, पानीमा बैठक बस्न असहज हुन्थ्यो । भवन निर्माणले विभिन्न काम गर्न सहज छ ।’

    टोल भवनबाट अन्य कामका अलावा, गाउँघर स्वास्थ्य क्लिनिक, आमा समूह, महिला समूह, बालसमूहलगायतको बैठक सञ्चालनमा सहजता भएको वडासदस्य जानुका सुयलले जानकारी दिनुभयो ।

    भवन नहुँदा गाउँघर क्लिनिक सञ्चालनमा धेरै समस्या हुने भए पनि अव भने सहजता भएको उहाँको भनाइ छ । साविक नौ वटा टोल रहेको वडामा हालसम्म चार वटा भवन निर्माण भएको उहाँले जानकारी दिनुभयो । अन्य टोलमा पनि क्रमशः भवन निर्माण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

    –रासस