६ असोज २०८२ सोमबार | 22 Sep 2025 Mon

काठमाडौँमा असोज अन्तिम साता मेलम्चीको पानी



  • आफ्नै खबर
  • ६ असोज २०८२ सोमबार (५ घण्टा अघि)
  • पाठक संख्या ६८
  • काठमाडौँ/  काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ । 

    वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘पानीको बहाव घटेको छैन । बहाव घटेपछि पानी ल्याउने तयारी छ ।’ २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्ण रूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको कार्यकारी निर्देशक दासले बताउनुभयो ।

    केही दिनयता दैनिक ठूलो पानी पर्न थालेकाले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पठाउन समस्या भएको उहाँको भनाइ छ । 

    मेलम्चीबाट करिब १७ देखि १८ करोड लिटर पानी दैनिक  काठमाडौँमा पथान्तरण गरिँदै आए पनि बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि अहिले रिबर्मा खोलाबाट दैनिक ६ देखि ७ करोड लिटर पानी पथान्तरण गरेर काठमाडौँमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘मेलम्चीको पानी असारमै बन्द भएको थियो । अहिले हामीले रिबर्मा खोलाको पानी वितरण गरिरहेका छौँ ।’

    २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएको हो । तर, २०७८ असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि हालसम्म बाह्रैमास पानी ल्याउन सकिएको छैन ।  

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    –रासस