आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

 मुग्लिन-नारायणगढको विकल्पमा प्रयोग गर्न सकिने सडक


  • आफ्नै खबर
  • २०८२ आश्विन ८, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ४ पाठक संख्या
  • तनहुँ/  मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । 

    पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारमा परेका छन् ।

    मुग्लिन-नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ । 

    साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली-खैरेनीटारबाट बायाँतर्फबाट भीमाद-मानपुर हुँदै डेढगाउँ-वुलिङटार-ढोडेनी-गैँडाकोट पुग्न सकिने यो बाटो प्रयोग गरिसक्नुभएका प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो । 

    मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार-भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद-मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर-डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ । 

    मोटरसाइकल चालकले दमौलीबाट केशवटार सुखौरा हुस्लाङ धरमपानी हुँदै घुमाउने झोलुङ्गे पुल तरेर मुग्लिन-नारायणगढ सडकखण्ड निस्किएर यात्रा गर्न सक्ने धरमपानीका स्थानीय विजय रानाको भनाइ छ । मुग्लिनको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।

    –रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु