९ असोज २०८२ बिहिबार | 25 Sep 2025 Thu

सम्भावना स्वदेशमै छ : जागिर त्यागेर खेतीपाती



  • आफ्नै खबर
  • ९ असोज २०८२ बिहिबार (५ घण्टा अघि)
  • पाठक संख्या ५५
  • कञ्चनपुर/  एक समय गाउँको विद्यालयमा अङ्ग्रेजी शिक्षक अध्यापन गर्ने प्रकाश पैतोला अहिले तरकारी किसानको रूपमा परिचित हुनुहुन्छ । शिक्षण पेशा छोडेर व्यवसायिक रूपमा तरकारी खेतीमा लाग्नुभएका उहाँले वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका–८ निवासी पैतोला पाँच वर्षअघि विद्यालयको जागिर छोडेर तरकारी खेतीमा लाग्नुभएको हो । उहाँले दुई बिगाहा १५ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ ।

    ‘कोभिड सङ्क्रमण अघिसम्म स्थानीय विद्यालयमा शिक्षण गर्थेँ लामो समय लकडाउन भएपछि मैले तरकारी बिक्री गर्न थालेँ’, पैतोलाले भन्नुभयो, ‘सुरुमा ६ कठ्ठा भाडामा लिएर टमाटर मात्रै लगाएँ । पछि विस्तारै लहरे तरकारी विस्तार गर्दै गएँ ।’

    उहाँले सुरुवातमा तरकारी उत्पादन गर्ने किसानबाट तरकारी खरिद गरेर बजारमा बिक्री गर्ने काम गर्नुभएको थियो । आफैँ खेतीमा लाग्नुपर्छ भन्ने सोच आएपछि जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गर्नुभएको हो । 

    वैदेशिक रोजगारीको मोहले उहाँलाई पनि नछोएको होइन । त्यसका लागि उहाँले सबै कागजात तयार गरेर वैदेशिक रोजगारीको तयारीसमेत गर्नुभएको थियो । तर पछि अर्काको नोकरी गर्नुभन्दा आफ्नै ठाउँमा आफैँले केही गर्नुपर्छ भन्ने लागेपछि उहाँले वैदेशिक रोजगारीमा जान छोडेर तरकारी खेती विस्तार गर्नुभयो ।

    ‘अर्काको ड्युटी गर्नुभन्दा आफैले गर्नु राम्रो लाग्यो’, उहाँले भन्नुभयो, ‘विदेश जाँदा दुःख, बिरामी भएका बेला परिवारको ख्याल राख्न पाइँदैन । यहाँ केही गरे परिवारसँग बस्न पाउँछु । परिवारको हेरचाह र आम्दानी पनि हुने भयो ।’

    उहाँले अहिले दैनिक आठ सय रुपैयाँ ज्याला दिनेगरी तीन जना कामदारसमेत राख्नुभएको छ । उहाँको जग्गामा टमाटर, करेला, काँक्रालगायतका लहरे तरकारी उत्पादन भइरहेको छ ।  
    सुरुवातमा टमाटर खेती गर्दा डेढ लाख रुपैयाँ लगानी गर्नुभएको उहाँले त्यसपछिको कमाइ भने तरकारी खेतीको बिस्तारमै खर्च गर्नुभएको छ ।

    ‘बिगाहाको वार्षिक पचास हजार रुपैयाँका दरले दुई बिगाहा १५ कठ्ठा जग्गा भाडामा लिएको छु’, उहाँले भन्नुभयो, ‘सबै खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँजति आम्दानी हुन्छ । यसले जीवनयापन भइरहेको छ ।’

    वर्षाद्को समयमा भने तरकारी खेतीमा नोक्सानी बेहोर्नु परेको उहाँ भनाइ छ । तर मेहनतका साथ काम गरे स्वदेशमै पैसा कमाउन सकिने उहाँ उदाहरण बन्नुभएको छ । ‘मेहनत गरेर तरकारी उत्पादन गर्न सके राम्रो बजार छ । यहाँबाट बजार पुग्दासम्म तरकारी बिक्री भइसक्छ’, उहाँले भन्नुभयो, ‘आफ्नै देशमा पनि मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ ।’

    अङ्ग्रेजी विषमा स्नातक तहसम्म अध्ययन गरेका पैतोला अहिले पनि फुर्सदको समयमा विद्यार्थीलाई ट्युसन पढाउँदै आउनुभएको छ । पैतोलाजस्ता शिक्षित युवाले कृषि व्यवसायलाई रोजगारीको माध्यम बनाउनु सकारात्मक सङ्केत हो । सरकारी निकायले यस्ता प्रयासलाई प्रोत्साहन गर्ने हो भने कृषि क्षेत्रमा थप व्यवसायीकरणमा टेवा पुग्ने छ ।

    –रासस