१० असोज २०८२ शुक्रबार | 26 Sep 2025 Fri

पुनःनिर्माणका लागि सरकारले मितव्ययिता अपनाउने



  • आफ्नै खबर
  • १० असोज २०८२ शुक्रबार (६ घण्टा अघि)
  • पाठक संख्या ५७
  • काठमाडौँ/  अर्थमन्त्री रामेश्वर खनालले मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाउनुभएको छ । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग आज भएको बैठकमा उहाँले खर्च कटौतीमार्फत जेनजी प्रदर्शनका क्रममा जलाइएका भौतिक संरचनाको पुनःनिर्माण गरिने बताउनुभयो । 

    बैठकमा मन्त्री खनालले विकास साझेदारले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएकामा धन्यवाद दिनुभयो । उहाँले वर्तमान सरकारका तत्कालका प्राथमिकता रहेको प्रकाश पार्नुभयो ।

    ‘नेपालमा हालै गठित अन्तरिम सरकारद्वारा युवाहरूको चाहना अनुरूप पारदर्शी, जवाफदेही, भ्रष्टाचारमुक्त समाज र विधिको शासन स्थापना गरिने छ’, उहाँले भन्नुभयो, ‘आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको छ । अनुपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिइने छ ।’

    कार्यक्रममा विकास साझेदारका तर्फबाट संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्विट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरू, भारत र नर्वेका प्रतिनिधि, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रमका प्रतिनिधिलगायतले आफ्नो भनाइ राख्दै नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र सरकारको नीति तथा कार्यक्रममा सहमति जनाएका थिए ।

    विकास साझेदारले चालू अवस्थाका आयोजनाहरूलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् । मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले बैठकमा राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्बन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

    –रासस