२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue

हिमाली भेगमा फापर भित्र्याउन सुरु



  • आफ्नै खबर
  • २१ असोज २०८२ मंगलबार (३ घण्टा अघि)
  • पाठक संख्या ४९
  • मुस्ताङ/  यहाँका किसान दसैँ पर्व सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाका किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ ।

    घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा बस्ने आफन्तजनलाई कोसेलीको रुपमा पठाउने उद्देश्यले यहाँका किसानले फापर खेती गर्दै आइरहेका छन् ।

    खेतबारीमा फापर छरेको औसत एक सय दिनमा फापर खेती भित्र्याउन योग्य हुने घरपझोङ-५ ठिनीका किसान प्रमिला गुरुङ थकालीले बताउनुभयो ।

    फापर काटेर डाँठसँगै लगातार तीन दिनसम्म खेतबारीमा सुकाएपछि लौरीको सहायताले फापर चुटेर दाना निकाल्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । फापरको डाँठ परालका रूपमा पशुचौपायालाई खुवाउन र घाँस नपाइने बेला पशुलाई खुवाउन सुकुटी पारेर राखिने गरिएको किसान थकालीको भनाइ छ । 

    जिल्लामा मीठे फापर र तिते फापरखेती हुने गरे पनि मीठे फापरबाली बढी मात्रामा लगाउने गरिएको जनाइएको छ । पछिल्लो समय कतिपय किसानले नयाँ प्रविधिको प्रयोग गरेर फापरको दाना सङ्कलन गर्न थालेका उहाँको भनाइ छ । 

    जिल्लाको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्रमा स्थानीयले परम्परागत रुपमा रैथाने फापरखेती गर्दै आइरहेका छन् । उवा, जौ, मकै, आलु, बोडी, सिमीलगायत फापरखेती यहाँको मुख्य ‘ब्राण्ड’ बनेको छ ।

    समुद्री सतहको एक हजार नौ सय ८४ मिटरदेखि तीन हजार नौ सय मिटर उचाइको खेतीयोग्य जमिनमा फापरखेती गरिन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा फापर खेती गरिने भएपनि मुस्ताङको चिसो हावापानीमा उत्पादन हुने रैथाने बाली फापरको परिकार स्वादिलो र पोसिलो हुन्छ ।

    फापर बालीअन्तर्गत मीठे फापरको खेती तल्लो जिल्लामा असार र साउन महिनाको पहिलो हप्ता खेतबारीमा छरेर असोजको पहिलो र दोस्रो हप्तामा घरमा भित्र्याईन्छ । तीते फापर साउन र भदौ महिनामा छरेर कात्तिकको पहिलो हप्तादेखि घरमा भित्र्याउने गरिन्छ ।

    सामान्यतया रैथाने बाली उवा र जौ पाक्न नौ महिना लाग्ने भए पनि फापर बाली तीन महिनामा पाक्ने किसान प्रमिलाले बताउनुभयो ।

    उपल्लो मुस्ताङमा मीठे फापर वैशाखको पहिलो र दोस्रो हप्तामा छरेर कात्तिकको पहिलो हप्तादेखि भित्र्याइन्छ । यहाँ तिते फापर वैशाखको पहिलो र दोस्रो हप्तामा खेतबारीमा छरेर कात्तिक महिनाको अन्त्यतिर बाली भित्र्याइने प्रचलन रहेको छ ।

    पछिल्लो समय जलवायु परिवर्तनका कारण फापर बालीमा समेत विभिन्न प्रकोपहरू देखा पर्न थालेको घरपझोङ-५ ठिनीका किसान पाल्साङ गुरुङले बताउनुभयो । यसवर्ष यहाँको फापर बालीमा खुम्ले कीराको प्रकोप देखापरेको उहाँको भनाई छ । गतवर्ष यहाँको फापर बालीमा तुषारोले असर पुर्याएको उहाँले बनाउनुभयो ।

    यहाँको रैथाने बाली स्याउ बगैँचाभित्र अन्तरबालीको रुपमा लगाएर दोहोरो आम्दानी लिने गरिएको किसान गुरुङले उल्लेख गर्नुभयो । फापरको ढिँडो, रोटीलगायत विभिन्न परिकार बनाउन सकिने भएकाले यहाँको फापर सहर बजारका उपभोक्ताले अत्याधिक रुचाउने गरेको उहाँको भनाइ छ । 

    जलवायु सङ्कटका कारण परम्परागत रैथाने बाली अन्य बालीभन्दा कम झन्झटिलो भएकाले यसको व्यवस्थापन निकै सहज भएको उहाँले जानकारी दिनुभयो । सहर बजारका भान्साघरमा यहाँको फापरको ढिँडो मुख्य भेराइटी भएकाले यसको माग बढी हुने गरेको उहाँले बताउनुभयो ।

    फापरको बोट औसत एक सय सेमीदेखि एक सय १० सेमीसम्म लम्बाइ हुने गर्छ । फापर बालीअन्तर्गत मीठे फापरको झुप्पामा हलुका गुलाबी रङ्गको फूलहरू फुल्दछ भने दाना हलुका कालो रङ्गको हुन्छ । तिते फापरको सेतो रङ्गको फूलहरू फल्दछ । फापरको दानालाई स्थानीयले पानी घट्ट र मिलमा पिसेर पिठो तयार गर्छन् । 

    यहाँ एकपाथि फापरको पिठो एक हजार दुई सय रुपैयाँमा किनबेच भएको किसानहरू बताउँछन । विशेषगरी फापरको मीठो बढी मात्रामा ढिँडो र रोटी खानका लागि उपयोग गर्ने गरिन्छ ।

    यहाँका किसानले फापरखेतीलाई व्यावसायिक रुपमा अपनाएको पाइँदैन । हिमाली क्षेत्रको महत्वपूर्ण पहिचान बोकेको कृषि उपज रैथाने फापर बालीलाई यहाँका किसानले व्यक्तिगत घरायसी प्रयोजनको रुपमा मात्रै अपनाएको पाइन्छ ।

    घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले रैथाने खाद्य बाली प्रवर्द्धनका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो ।

    उहाँले फापर बाली मुस्ताङकै पहिचान भएकाले यसको संरक्षणमा स्थानीय सरकारको दायित्व रहने भएकाले सम्बन्धित किसानलाई बर्सेनि रैथाने बाली विविधीकरण तालिम, अनुदान र प्रोत्साहन लगायतका कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो ।

    पोषणविद्का अनुसार फापरको परिकारबाट २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व प्राप्त हुन्छ । फापरको परिकारबाट रगतको कोलेस्ट्रोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने भनाइ छ ।

    यसले मानिसको मोटोपना घटाउने र उक्त रक्तचापका बिरामीलाई फापरको परिकार सेवन उपयोगी हुन्छ । विशेष गरी फापरमा मिनरल र भिटामिनको स्रोत प्रशस्त हुन्छ । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, चिल्लो पदार्थ र पानीको मात्रा प्राप्त हुने जनाइएको छ ।

    –रासस