२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue

पर्यटक तान्दै साल्पा-सिलिचुङ



  • आफ्नै खबर
  • २१ असोज २०८२ मंगलबार (३ घण्टा अघि)
  • पाठक संख्या ६६
  • भोजपुर/  यहाँको सबैभन्दा अग्लो साल्पा-सिलिचुङ चुचुरो र साल्पा पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । विशेषगरी मुन्दुम पदमार्गमा आउने पर्यटकले यस स्थानलाई अनिवार्य रूपमा पुग्ने गन्तव्यका रूपमा लिने गरेका छन् ।

    समुद्री सतहबाट चार हजार एक सय ५५ मिटर उचाइमा रहेको सिलिचुङ डाँडाबाट सगरमाथासहित अन्य हिमाल नियाल्न सकिन्छ । हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्दो छ । चुचुरो चढेपश्चात देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको छ । 

    चुचुरोको काखमै रहेको साल्पा पोखरीले विशेष धार्मिक महत्व राख्छ । भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्ने गरेका छन् । वर्षमा चारपटक-वैशाख, भदौ, कात्तिक र फागुन पूर्णिमामा यहाँ मेला लाग्ने गर्दछ । ती अवसरमा भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा र सोलुखुम्बु लगायतका जिल्लाबाट भक्तजनको ठूलो भीड लाग्ने गरेको स्थानीयको भनाइ छ । 

    यस स्थानलाई धामीझाँक्रीहरूले शक्तिको गुरुको रूपमा मान्ने परम्परा रहेको छ भने सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, बोली नआउनेलाई बोली आउने विश्वासले मानिसहरू यहाँसम्म पुग्ने गरेका छन् । 

    कचौरा आकारमा फैलिएको साल्पा पोखरी समय-समयमा रङ परिवर्तन गर्ने विश्वासले प्रख्यात छ । किरात राई समुदायले यसलाई आफ्ना पुर्ख्यौली भगवानका रूपमा पूजा गर्ने गरेका छन् ।
    स्थानीय जानकार चन्द्र खत्रीका अनुसार साल्पा-सिलिचुङ क्षेत्रलाई व्यवस्थित रूपमा विकास र प्रचारप्रसार गर्न सके ताप्लेजुङको पाथीभरा जस्तै लोकप्रिय धार्मिक-पर्यटन गन्तव्य बन्न सक्छ ।

    चिताएको पूरा हुने विश्वासले मानिसहरू चार-पाँच दिनसम्म पैदल यात्रा गरेर यहाँ पुग्ने गरेका छन् । प्रख्यात पर्वतारोही तेन्जिङ र हिलारीले सगरमाथा आरोहणका क्रममा यही पदमार्ग प्रयोग गरेको तथ्यले यस क्षेत्रलाई ऐतिहासिक महत्व दिएको छ ।

    प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वले भरिपूर्ण साल्पा पोखरी र सिलिचुङ चुचुरो अहिले पर्यटकको रोजाइको प्रमुख गन्तव्य बनेको छ । यसको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके यो क्षेत्र नेपालको महत्वपूर्ण धार्मिक-पर्यटन केन्द्रका रूपमा स्थापित हुने स्थानीयको भनाइ छ ।

    –रासस