२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue

बिपी राजमार्गको क्षतिग्रस्त स्थानमा बन्दैछ अस्थायी सडक



  • आफ्नै खबर
  • २१ असोज २०८२ मंगलबार (२ घण्टा अघि)
  • पाठक संख्या ६७
  • काभ्रेपलाञ्चोक/  असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा पुनः अस्थायी डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइतबारदेखि नै डाइभर्सन बनाउन सुरु गरिएको हो ।

    डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन निर्माण गर्न थालेको हो । गत वर्षको असोजमा बाढीपहिरोबाट क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो । 

    सोही क्षेत्रको सडकखण्ड शनिबार र आइतबारको बाढीपहिरोले पुनः क्षतिग्रस्त बनाउँदै बगाएको थियो । 

    राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीन/चार स्थानबाट अस्थायी सडक बनाउन सुरु गरिने कार्यालयका सूचना अधिकारी इञ्जिनियर बिन्दु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार रोशी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले पानीको सतहभन्दा उचाइमा डाइभर्सन पुनःनिर्माण गरिनेछ । 

    शनिबार र आइतबारको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फबाट पनि सोमबारदेखि नै पुनः डाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । 

    उहाँका अनुसार सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले बिपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुई वटा स्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो ।  

    सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फको नमोबुद्धको चौकीडाँडासम्म विभिन्न स्थानमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रुपमा उक्त राजमार्ग अवरुद्ध भएको हो । हाल वैकल्पिक मार्गका रुपमा सवारिसाधन खुर्कोट-मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली-हेटौँडा हुँदै काठमाडौँ आवतजावत भइरहेका छन् ।

    बिपी राजमार्गअन्तर्गत चौकीडाँडा, घुमाउने, माम्तीलगायतका क्षेत्रमा रोशी खोलाले राजमार्ग कटान गरेका कारण पैदल यात्रासमेत गर्नसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

    कार्यालय प्रमुख कोमल शाहका अनुसार शनिबार साँझदेखि रोशी खोला तथा मङ्गलटार खोलाको बाढीले काम सुरु गरेपछि करिब दर्जन स्थानमा सडकमा लेदो जमेको तथा सडक बगाउँदा पिप्ले र बोक्सेकुनामा हिँड्ने बाटोसमेत छैन । 

    सडक कटान गरेपछि फसेका करिब तीन दर्जन सवारीसाधनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मङ्गलटार तथा सुरक्षित स्थानमा राखेको थियो । 

    जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले शनिबारदेखि बिपी राजमार्गमा तीन दिन सवारिसाधन आवतजावत बन्द गर्ने निर्णय गरेको थियो ।

    शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गको विभिन्न स्थानमा लेदोसहितको सानासाना पहिरोका कारण थप जोखिम हुन नदिन ट्राफिक प्रहरीले शनिबार बिहानैदेखि प्रवेशमार्गस्थल धुलिखेल तथा काभ्रेभञ्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारिसाधन ‘होल्ड’ गरिएको थियो । 

    कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियासमेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

    –रासस