बागलुङ/ तमानखोलाको जुर्गाघाटबासीले अब लेकमै पनि सोलारबाट मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् । करिब दुई सय अस्थायी र पाँच घर स्थायी बसोबास रहेको तमानखोला गाउँपालिका-१ र २ मा पर्ने गुर्जाघाटका स्थानीयको घरमा अहिलेसम्मै बिजुली पुगेको छैन् । यहाँका स्थानीय अहिले पनि धुपीको दियालोको उज्यालोको भरमा छन् ।
पाँच सयभन्दा बढी जनसङ्ख्या रहेको यस क्षेत्रका नागरिकले मोबाइल फोन बोके पनि चार्ज गर्न भने गाउँपालिकाको केन्द्र आसपासको गाउँमा आउनुपर्छ । यहाँ आउनका लागि पैदल दुई दिन जति लाग्छ ।
गाउँपालिकाका अधिकांश नागरिक पशुपालनमा आवद्ध रहेको हुँदा बर्खाको पाँच महिना गुर्जाघाटमा जान्छन् । तमानखोलाका दुई सयभन्दा बढी घर परिवार जेठ महिनादेखिनै घुर्जाघाट उक्लिन सुरु गर्छन् ।
बर्खाभरि लेक (घुर्जघाट)मा बसेर असोज/कात्तिक तिर मात्रै बेसी (गाउँ) झर्छन् । असोज लागेपछि चिसो सुरु हुने हुँदा बेसी झर्ने उनीहरूको परम्परा जस्तो बनेको छ । तर पाँच घर परिवार भने स्थायी रुपमा गुर्जाघाटमा बस्छन् ।
गुर्जाको भेगमा मात्र २५ हजारभन्दा बढी भेडापालन हुँदै आएको छ । स्थानीयले गाईभैँसी पनि पाल्छन् । स्थानीय र गोठालालाई मात्र होइन पछिल्लो समय ढोरपाटन हुँदै त्यहाँ पुग्ने पर्यटकलाई समेत मोबाइल फोन चार्ज गर्न समस्या थियो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट चार वटा सोलार प्यानल जडान गरेर एक साथ १५ वटा मोबाइल फोन चार्ज गर्ने मिल्ने व्यवस्था मिलाएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । गाउँपालिकाले करिब दुई लाख रुपैयाँ लागतमा गत साता सोलार प्यानल जडान गरेको उहाँको भनाइ छ ।
अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘गुर्जाघाटमा धेरै वर्ष अगाडिदेखि तमानखोलाका नागरिकहरू बस्दै आएका छन् । खासगरी बर्खाको बर्खामा सयौँ मानिसहरू यहाँ बस्ने र परिवारसँग टाढा हुँदा टेलिफोन गर्नेका लागि समस्या थियो । विद्युत् पुर्याउन निकै गाह्रो छ, त्यसले गर्दा यस वर्ष गाउँपालिकाले मोबाइल चार्ज गर्नका लागि सोलार प्यानलबाट भए पनि चार्जिङ स्टेसन राखेका छौँ ।’
यसबाट घुम्न आउने पर्यटकलाई समेत सहज हुने अपेक्षा लिएको उहाँले बताउनुभयो । ढोरपाटन शिकार आरक्ष र म्याग्दीको धौलागिरी गाउँपालिकासँग सिमाना जोडिएको गुर्जाघाटमा नेपाली सेनाको क्याम्पसमेत छ । स्थानीयले कतिपय अवस्थामा सेनाको क्याम्पमा पुगेर मोबाइल फोन चार्ज गर्नुपर्ने अवस्था थियो ।
आफू पनि भेडापालक किसान रहेको हुँदा गुर्जाघाटमा बस्ने सञ्चारबाट टाढा हुनु परेको भन्दै सोलार प्यानलबाट मोबाइल चार्ज गर्न मिल्ने भएपछि सहज भएको गाउँपालिकाका कार्यपालिका सदस्य ढालेन्द्र छन्त्यालले बताउनुभयो ।
गाउँपालिकाले गुर्जाघाटमा स्थायी रुपमा बसोबास गर्दै आएका लोकबहादुर छन्त्यालको घरमा सोलार प्यानल जडान गरेको हो । यसको रेखदेख र संरक्षणको जिम्मा समेत लोकबहादुरलाई दिइएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस