२२ असोज २०८२ बुधबार | 08 Oct 2025 Wed

लोभलाग्दो पशुपालन, दिनकै ३०० लिटर दूध



  • आफ्नै खबर
  • २२ असोज २०८२ बुधबार (२ घण्टा अघि)
  • पाठक संख्या १
  • स्याङ्जा/  गल्याङ नगरपालिका-१ मालुङ्गाका ईश्वर बस्यालले व्यावसायिक रुपमा गाईपालन गर्नुभएको ६ वर्ष भयो । ६ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यवसाय थाल्नुभएका बस्यालले गाईपालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

    सुरुमा ५० लाख रुपैयाँ लगानी गरी व्यवसाय थाल्नुभएका बस्यालले फार्मलाई विस्तार गर्दै लैजानुभएको छ । उहाँले सुरुमा ५० लाख रुपैयाँको लगानीमा केही संरचनासहित गाई र भैँसी गरी २० वटाबाट थाल्नुभएको व्यवसायलाई बर्सेनि विस्तार गर्दै लैजानुभएको हो ।

    ‘भैँसी र होलिस्टिन गरी २० वटा गाईभैँसीपालनबाट थालेको व्यवसाय बर्सेनि विस्तार गर्दै लगेको छु’, उहाँले भन्नुभयो, ‘हालसम्म आइपुग्दा फार्ममा ४४ गाईभैँसी छन् भने झण्डै डेढ करोड रुपैयाँ लगानी भएको छ ।’

    फार्मबाट भएको आम्दानीलाई बर्सेनि लगानी गर्दै गइरहेकाले अझै केही वर्ष लगानीलाई निरन्तरता दिने उहाँले बताउनुभयो । अहिले गाईभैँसीमध्ये २७ वटा दुहुना छन् भने बाँकी ब्याउने छन् । आफ्नै जग्गामा फार्म सञ्चालन गर्नुभएका बस्यालले झण्डै सय रोपनी जमिन भाडामा लिएर गाईभैँसीका लागि आवश्यक पर्ने नेपियर, जै, वर्सिमलगायतका घाँस लगाउनुभएको छ ।

    ‘फार्मबाट अहिले दैनिक दुई सय ५० देखि तीन सय लिटर दूध बिक्री हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘फार्मबाटै प्रतिलिटर ६५ देखि ७० रुपैयाँका दरले दूध बिक्री भइरहेको छ ।’

    बस्यालको फार्ममा उत्पादित दूध गल्याङस्थित साना किसान कृषि सहकारी संस्थामा बिक्री गर्दै आउनुभएको छ । फार्मबाट बिक्री भएको दूधमा प्रतिलिटर गल्याङ नगरपालिकाले १५ रुपैयाँ थप अनुदान उपलब्ध गराउने भएकाले पनि सहजरूपमा मूल्य प्राप्त भएको उहाँले बताउनुभयो ।

    ‘यहाँ जति मात्रामा दूध उत्पादन गरे पनि बजारको कुनै समस्या छैन’, उहाँले भन्नुभयो, ‘उत्पादित दूध सहकारीमार्फत बिक्री हुने गरेको छ, त्यसमाथि १५ रुपैयाँका दरले प्रतिलिटर अनुदानले थप प्रोत्साहन पुगेको छ ।’

    फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फार्मलाई थप व्यवस्थित गर्दै गाईभैँसी थप गर्ने र संरचना विस्तार गर्दै लैजाने योजनामा उहाँ हुनुहुन्छ ।

    ‘केही समय वैदेशिक रोजगारीपछि स्वदेश फर्केपछि बजार राम्रो देखेर पशुपालन व्यवसाय थालेको हुँ’, उहाँले भन्नुभयो, ‘काम गर्दै जाँदा सिकाइ हुँदै गएको छ, अनुभव सँगाल्दै गएको छु । व्यवसाय राम्रै छ ।’

    फार्मसम्म विद्युत्को तार आए पनि आवश्यक मात्रामा पावर नआएकाले हातैबाट दुहुनुपरेको उहाँले बताउनुभयो । मेसिन ल्याएर राखिएको तर पावरको कमीका कारण मेसिन सञ्चालनमा समस्या रहेको उहाँको भनाइ छ ।

    –रासस