२३ असोज २०८२ बिहिबार | 09 Oct 2025 Thu

विपन्न परिवारको घरमा जस्तापाताको छानो



  • आफ्नै खबर
  • २३ असोज २०८२ बिहिबार (४ घण्टा अघि)
  • पाठक संख्या ५९
  • भोजपुर/  यहाँको हतुवागढी गाउँपालिकाले वर्षौँदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले एक सय ६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो ।

    जस्ताको छानो पाएपछि विपन्न समुदायले खुसी व्यक्त गरेका छन् । चुहिने छानोले सास्ती भोगेकामा गाउँपालिकाले जस्तापाता दिएपछि सहज भएको स्थानीय चिनिमाया खड्काले बताउनुभयो । ‘फुसको छानो हुँदा धेरै समस्या थियो’, उहाँले भन्नुभयो, ‘म एकल महिला भएकाले छानो फेर्ने क्षमता थिएन । पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुँला राखेर बस्थेँ । अहिले सहज छ ।’

    गाउँपालिकाले हालसम्म विभिन्न आर्थिक वर्षमा छानो फेर्नका लागि ७० लाख रुपैयाँ खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिघर ७५ हजार रुपैयाँ बराबरको सहयोग गरिएको छ ।

    ‘आर्थिक अवस्था कमजोर भएर छानो फेर्न नसक्ने परिवारलाई प्राथमिकतामा राखेर हामीले सहयोग गरेका हौँ’, निरौलाले भन्नुभयो, ‘छानो फेरिएपछि वर्षाको समयमा उनीहरूलाई सहज भएको छ ।’ 

    गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले केन्द्र सरकारले निरन्तर बजेट नदिँदा गाउँपालिकाले आफ्नै पहलमा कार्यक्रम अघि बढाएको बताउनुभयो । दलित, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर जस्तापाता वितरण गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । 

    स्थानीय तह सञ्चालनमा आएपछि सुरक्षित आवास, जनता आवास र गाउँपालिकाको आफ्नै कार्यक्रममार्फत हालसम्म चार सय पाँच परिवारका लागि  जस्तापाता वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।

    –रासस