२३ कात्तिक २०८२ आईतबार | 09 Nov 2025 Sun

मादले काँक्रोखेतीतर्फ बढ्दो आकर्षण



  • आफ्नै खबर
  •     (४ हप्ता अघि)
  • पाठक संख्या १२३
  • तनहुँ/  आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यसपटक मात्रै यहाँका ६ वटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी ६ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

    आँबुखैरेनी गाउँपालिका-५ लाब्दी भोटेश्वाराका वीरबहादुर गुरुङले काँक्रो उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहयोग गरेपछि आम्दानी बढेको बताउनुभयो । उहाँले यस वर्ष आफूले पनि काँक्रो बिक्री गरी ४० हजार पाँच सय रुपैयाँ आम्दानी गरेको बताउनुभयो । गुरुङले ५० बोट काँक्रोका बिरुवा लगाउनुभएको छ । 

    ‘बजार नपाउँदा विगतमा काँक्रो कुहिएर जाने गरेको थियो । हाल बजार राम्रै छ’, उहाँले भन्नुभयो, ‘गाउँपालिकाले हाम्रो उत्पादन हाटबजारसम्म निःशुल्क ढुवानी गरिदिएको छ । त्यसकारण सहज रूपमा काँक्रो बिक्री भइरहेको छ । यसले हामीलाई निकै सहज भयो ।’

    सोही ठाउँका जितबहादुर गुरुङले ३० हजार पाँच सय रुपैयाँ, तुलबहादुर गुरुङले १२ हजार पाँच सय रुपैयाँ, सङ्गीता गुरुङले ४५ हजार पाँच सय, लालश्री गुरुङले ४५ हजार, तेजबहादुर गुरुङले रु २० हजार, डिलुमाया गुरुङले १२ हजार, रत्नमाया गुरुङले १४ हजार, सीता गुरुङले नौ हजार, रजमाया गुरुङले १० हजार, फूलमाया गुरुङले ३५ हजार पाँच सय, धनमाया गुरुङले १५ हजार र खड्क गुरुङले ५० हजार रुपैयाँको मादले काँक्रो बिक्री गर्नुभएको छ । 

    छिम्केश्वरी कृषक समूहमा आबद्ध कृषकले मात्रै चार लाख तीन हजार रुपैयाँ बराबरको मादले काँक्रो बिक्री गरेको कृषक जितबहादुर गुरुङले जानकारी दिनुभयो । आँबुखैरेनीमा प्रत्येक सोमबार र शुक्रबार लाग्ने हाटबजारमा आफूहरूले उत्पादन गरेको मादले काँक्रोले राम्रो बजार पाएको उहाँले सुनाउनुभयो ।

    गुरुङले भन्नुभयो, ‘गाउँपालिकाले जति उत्पादन भए पनि बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हामी ढुक्क छौँ । यसले कृषकलाई आकर्षित गरेको हो ।’  

    गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले यहाँका कृषकले करिब पाँच हजार पाँच सय केजी मादले काँक्रो उत्पादन गरी बिक्री गरेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार छिम्केश्वरी कृषक समूहका कृषकले चार लाख तीन हजार, घलडाँडा कृषक समूहका कृषकले एक लाख नौ हजार, केउरिनी कृषक समूहका कृषकले ७६ हजार, माई छिम्केश्वरी कृषक समूहका कृषकले १८ हजार, खोलागाउँ कृषक समूहका कृषकले तीन हजार र एकता कृषक समूहका कृषकले २६ हजार रुपैयाँबराबरको काँक्रो बिक्री गरेका छन् ।

    यसबाट ४४ जना कृषक लाभान्वित भएका छन् । केसीका अनुसार आँबुखैरेनी गाउँपालिका-५ र ६ मा धेरैले काँक्रोखेती गरिरहेका छन् । विगतमा विभिन्न जटिलतासँगै रोग कीराको प्रकोप, प्राविधिक ज्ञान र बजार समस्याका कारण सोचेअनुरूप उत्पादन हुन सकिरहेको थिएन ।

    गाउँपालिकाले मादले काँक्रोलाई रैथाने बालीका रूपमा राखेर प्रवर्द्धनमा सहयोग गरेपछि केही समस्या समाधान भएको केसीको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘यस वर्ष दुई वडाका ४४ जना कृषकले ५.५ मेट्रिक टन काँक्रो उत्पादन गरेर बिक्री गर्न सफल हुनुभयो । विगतमा उत्पादन भए पनि बजारीकरण मुख्य समस्याका रूपमा थियो । हाटबजारबाट यसको बजारीकरण हुँदा कृषक उत्साहित हुनाका साथै उत्पादन बढाउन प्रोत्साहित हुनुभएको छ ।’

    आँबुखैरेनी गाउँपालिका-२ मा प्रत्येक सोमबार र आँबुखैरेनी गाउँपालिका-३ मा प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको छ । गाउँपालिकाभित्रका सबै कृषकले आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बिक्री गर्ने गर्छन् ।

    –रासस