तनहुँ/ म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रुपमा विपन्न वर्गलाई १२ वटा नमुना आवास निर्माण गर्ने भएको छ । म्याग्देले कूल ६० नमुना आवास निर्माण गर्ने घोषणा गरेबमोजिम गत आवसम्म ४८ घर निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिसकेको छ ।
सोही योजनाबमोजिम चालु आवमा १२ वटा घर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । हालका जनप्रतिनिधि निर्वाचित भएर आएदेखि पाँच वर्षभित्र विपन्न वर्गलाई ६० वटा घर बनाउने लक्ष्यसहित पालिका अगाडि बढेको उहाँको भनाइ छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाबाट आर्थिक रुपमा विपन्न वर्गलाई नमुना आवास कार्यक्रमअन्तर्गत उक्त आवास निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।
म्याग्देका सातवटै वडाबाट छानिएका अतिविपन्न व्यक्तिलाई उक्त घर हस्तान्तरण गरिनेछ । सातवटै वडाबाट छानिएका लाभग्राहीको नामावली सार्वजानिक गरिएको छ । वडा नं १ का एक, वडा नं २ का एक, वडा नं ३ का दुई, वडा ४ का दुई, वडा नं ५ का दुई, वडा नं ६ का दुई र वडा नं ७ का दुई जना रहेका छन् । वडा नं १ र २ का दुई/दुई जनालाई वैकल्पिक लाभग्राहीको सूचीमा राखिएको छ ।
नमुना आवास निर्माणका लागि छनोट भएका लाभग्राहीले सात दिनभित्रमा घर बन्ने जग्गाको सक्कल लालपुर्जा, जग्गाको नापी नक्सा र नागरिकताको प्रमाणपत्रसहित गाउँपालिकामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको छ ।
गाउँपालिकाले घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य रहेका परिवारलाई लक्षित गर्दै यो ‘नमुना आवास कार्यक्रम’ सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा विपन्न लाभग्राही छनोट गरिएको हो ।
उहाँले भन्नुभयो, ‘मैले निर्वाचित भएपछि पाँच वर्षभित्रमा कम्तीमा ६० घर बनाउछौँ भन्ने प्रतिबद्धताअनुसार अहिलेसम्म ४८ घर बनाएर हस्तान्तरण गरिएको र बाँकी १२ वटा घर यसै आवमा हस्तान्तरण गरिनेछ ।’
–रासस
प्रतिक्रिया दिनुहोस