२६ असोज २०८२ आईतबार | 12 Oct 2025 Sun

बढे हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्री



  • आफ्नै खबर
  • २६ असोज २०८२ आईतबार (३ घण्टा अघि)
  • पाठक संख्या ५२
  • हुम्ला/  हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको सङ्ख्या उल्लेख्य बढेको छ । यस वर्षको यात्रा सकिएसँगै तीर्थयात्री बढेको निष्कर्ष निस्किएको हो । 

    चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिनुभयो । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने भारतीय तीर्थयात्रीको सङ्ख्या कोरोना सङ्क्रमणपछि उल्लेख्य बढेको छ । 

    सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको लामाले बताउनुभयो । एउटा होटलले १० लाख रुपैयाँभन्दा बढी कमाई गरेका छन् । अन्य देशबाट जिल्लाका विभिन्न स्थानमा घुम्न आउने एकदुई जना फाट्टफुट्ट पर्यटक बाँकी भए पनि भारतीय तीर्थयात्रीको याम सकिएको छ ।

    साढे ६ हजार विदेशी पर्यटक भित्रिए
    चीनसँग नेपालको हुम्ला हिल्सा नाका गत वैशाख १८ गते खुलेपछि ६ हजार चार सय सात जना विदेशी पर्यटक हुम्ला भित्रिएका जनाइएको छ । जेठदेखि असोजको पहिलो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने करिब ६ हजार भारतीय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘अन्य देशका चार सय ५० जनासहित हुम्लामा ६ हजार चार सय सात विदेशी पर्यटक आइपुगेका हुन् । जेठको दोस्रो हप्ताबाट हुम्ला भएर मानसरोवर दर्शनका लागि २५ जना विदेशी पर्यटक यहाँ पुगेका थिए ।’ 

    मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो भएकाले जेठ, असार, साउन, भदौ र असोजको पहिलो सातासम्म दैनिक सिमकोट विमानस्थलमा विदेशी तीर्थयात्रीको चाप बढ्ने गरेको थियो । 

    चीनले कोरोनापछि हिल्सा नाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाबाट खटिनुभएका दीपेन्द्र भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानसरोवर कैलाशको दर्शन गर्न हुम्लामा कोरोना सङ्क्रमणपछिको यो उल्लेखनीय सङ्ख्यामा भित्रिएका हुन् ।’

    जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ । भारतीय तीर्थयात्रीबाट प्रतिव्यक्ति एक हजार एक सय रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छभने अन्य देशका पर्यटकबाट एक हजार पाँच सय रुपैयाँ शुल्क लिने गरेको छ । 

    मानसरोवर कैलाश दर्शन गर्न जाने हुम्ला पुगेका पाँच हजार नौ सय ५७ जना भारतीयबाट ६५ लाख ५२ हजार रुपैयाँ र अन्य देशका पर्यटकबाट ६ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    सुनसान भयो विमानस्थल
    पर्यटक आउँदाको समय दैनिक बिहानदेखि बेलुका ५ः०० बजेसम्म व्यस्त देखिएको सिमकोट विमानस्थल यतिबेला सुनसान देखिएको छ । जेठ, असार, साउन र भदौमा सिमकोट विमानस्थल निकै व्यस्त देखिनुका साथै नागरिकको समेत बाक्लो चहलपहल देखिए पनि असोजको दोस्रो हप्तादेखि सुनसानजस्तै देखिन थालेको छ ।

    मानसरोवर कैलाश दर्शन यात्रा सकिएसँगै निजी जहाज पूर्वमा उडान भर्दा विमानस्थलमा चहलपहल कम देखिएको हो ।

    –रासस