काठमाडौँ/ भदौ २३ र २४ गते ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका सवारीसाधनका कागजातको पुनः प्राप्तिका लागि निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ ।
जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने जनाइएको छ । आगजनीका कारण ट्राफिक कार्यालयमा रहेका सवारीसाधनका कागजात, सवारीचालक अनुमतिपत्र, दर्ता किताब, जरिवाना विवरणलगायतका महत्वपूर्ण सरकारी कागजात जलेर नष्ट भएका थिए ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको वेबसाइटमा ‘कागजात हराएमा’ मा क्लिक गरी फारम भर्न सकिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
निवेदन सबमिट भएपछि आवेदन नम्बर आउँछ । पछि चेक एप्लिकेसनमा उक्त नम्बर राख्दा क्यूआर कोडसहितको सिफारिस पत्र सेवाग्राहीले प्राप्त गर्छन् । उहाँले भन्नुभयो, ‘क्युआर कोडको सिफारिस पत्रसहित सम्बन्धित यातायात कार्यालयमा सेवाग्राहीले जानुपर्ने हुन्छ । यसबाट सेवाग्राहीको समयको बचत हुनुको साथै ट्राफिक प्रहरी कार्यालयमा कामको चाप कम हुन जान्छ ।’
साथै कुनै व्यक्तिको कागजात जलेको छ र ट्राफिक प्रहरीले पहिले नै काटेको २४ घण्टे पुर्जी वा सिफारिस पत्रका आधारमा हाललाई सवारिसाधन सञ्चालन गर्न सकिने प्रवक्ता सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सवारीचालक अनुमतिपत्र नभए पनि, यदि ट्राफिक प्रहरीले पहिले काटेको २४ घण्टे पुर्जी वा कुनै प्रमाण रहेको छ भने सोहीलाई आधार मानेर सवारी चलाउन दिइनेछ ।’
–रासस
प्रतिक्रिया दिनुहोस