२७ असोज २०८२ सोमबार | 13 Oct 2025 Mon

तातोपानीमा स्नान गर्नेको भीड



  • आफ्नै खबर
  • २७ असोज २०८२ सोमबार (३ घण्टा अघि)
  • पाठक संख्या ४८
  • म्याग्दी/  बेनी नगरपालिका-४ मा रहेको सिङ्गा तातोपानीका होटल तथा घरबास ‘होमस्टे’ केही दिनयता भरिभराउ भएका छन् । तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरूले त्यहाँका होटल र होमस्टे भरिएका हुन् । 

    तातोपानीका होटल व्यवसायी जीवन केसीले दसैँयता होटल र घरबासका कोठा खाली नभएका बताउनुभयो । ‘सानाठूला २० भन्दा धेरै होटलका कोठा एक हप्तायता भरिभराउ भएका छन्’, उहाँले भन्नुभयो, ‘होमस्टेमा पाहुनाहरूले आफैँ पकाएर खाने र बस्नका लागि घरका कोठा पनि पाउन मुस्किल भएको छ ।’ 

    व्यवसायीका अनुसार तातोपानीमा हाल बास बस्ने पाहुनाको सङ्ख्या दैनिक एक हजार पाँच सय जनाको हाराहारीमा छ । असोज, कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो । जेठदेखि भदौसम्म तातोपानी सुनसान थियो ।

    चिसो बढेको, विद्यालय र क्याम्पसमा लामो बिदा भएको तथा बाली भित्र्याउने चटारो भइनसकेको हुँदा तातोपानी स्नान गरेर उपचारका लागि आउनेको चाप बढेको छ । 

    तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव अम्मरबहादुर खत्रीले स्नान गर्न आउनेहरूको चाप बढेकाले बिहान साढे ५ः०० देखि साँझ ५ः०० बजेसम्म महिला, पुरुषको ६ वटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

    ‘सात सय महिला र चारदेखि पाँच सय पुरुष तातोपानी स्नानका लागि आएका छन्’, उहाँले भन्नुभयो, ‘महिला र पुरुषको छुट्टाछुट्टै समूह बनाएर दुई/दुई घण्टाका दरले स्नान गर्ने व्यवस्था मिलाइएको छ ।’

    म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई सङ्कलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ । बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । 

    बागलुङका सुमन निउरेले चोट लागेपछि खुट्टाको दुखाइ कम गराउन तातोपानीमा स्नानका लागि आएको बताउनुभयो । तातोपानी सङ्कलन गरिएको तलाउमा १० दिन स्नान गर्न प्रतिव्यक्ति तीन सय ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । प्रवेश शुल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ । 

    गत वर्ष नेपालका ६६ जिल्लाका साथै कोरिया, पोल्याड, युक्रेन, स्कटल्यान्ड, रसिया, जापान र भारतका २० हजार तीन सय ४७ जना तातोपानी कुण्डमा स्नानका लागि आएका थिए ।

    समितिका कर्मचारी रेशम कार्कीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १९ हजार चार सय तीन र २०७९/८० मा १८ हजार जनाले स्नान गरेका थिए ।

    –रासस