२७ असोज २०८२ सोमबार | 13 Oct 2025 Mon

परिश्रमीका कुरै बेग्लै, झाडी फाँडेर फलफूलखेती



  • आफ्नै खबर
  • २७ असोज २०८२ सोमबार (३ घण्टा अघि)
  • पाठक संख्या ४५
  • म्याग्दी/  बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सञ्चालन भएको छ । 

    कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु भएको आयोजना लागू भएका स्थानीय तहको सङ्ख्या चालु आर्थिक वर्ष २०८२/८३ मा ३४ पुगेको छ ।

    कूल नौ करोड ३४ लाख ५० हजार अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका १९ स्थानीय तहमा विस्तार भएको हो । यसअघि १६ स्थानीय तहमा लागू भएको थियो । 

    नेपाल सरकार र एसियाली विकास बैङ्कको साझेदारीमा सञ्चालित आयोजनामार्फत १० प्रजातिका फलफूलखेती विस्तार गर्न कृषि फार्म, सहकारी र समूहले ५० प्रतिशत अनुदान पाउने आयोजना प्रमुख वासुदेव काफ्लेले जानकारी दिनुभयो ।

    ‘पहाडी क्षेत्रमा ओखर, सुन्तला, कागती, किबीलगायत फलफूलखेती विस्तार र प्रवर्द्धन गर्ने कार्यक्रमको उद्देश्य हो’, उहाँले भन्नुभयो, ‘बसाइँसराइका कारण बाँझिएका खेतीयोग्य जमिनलाई पुनः प्रयोगमा ल्याउनका लागि आयोजनाले सहयोग पुगेको छ ।’

    कम्तीमा २० रोपनी क्षेत्रफलमा नयाँ बगैँचा स्थापना गरी फलफूलखेती विस्तार गर्न आयोजनाले न्यूनतम तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था छ । बिरुवा रोप्न खाडल खन्ने, मल, बिरुवा खरिद, सिँचाइ र कृषि औजारका सामग्री खरिद गर्न कूल लागतको ५० प्रतिशत अनुदान पाउनेछन् । 

    पहिलो चरणमा आयोजना लागू भएको जलजला गाउँपालिकाका २९ वटा फर्म र समूहले सुन्तलाजात र ओखरखेती विस्तारसम्बन्धी कार्यक्रमका लागि अनुदान सम्झौता गरेका थिए । २० रोपनी क्षेत्रफल जमिनका दरले ११ वटा फर्मले सुन्तला र दुई वटाले कागतीको बगैँचा स्थापना गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो । 

    ‘काम सम्पन्न गरेर भुक्तानीका लागि निवेदन पेस गरेका फर्मको आयोजनाको प्राविधिक टोलीसहित अनुगमन सकिएको छ’, उहाँले भन्नुभयो, ‘फलफूल बगैँचा स्थापनाका लागि बाँझिएको जग्गा प्रयोगमा आउनुका साथै बजार झरेका किसान गाउँ फर्किएर फलफूलखेतीमा लागेका छन् ।’

    उपाध्यक्ष आचार्यका अनुसार बाँकी १६ फर्म बगैँचा स्थापनाको तयारीमा छन् । जलजला गाउँपालिका-४ सिरानचौरमा १० वर्षदेखि बाँझिएको जमिनमा झाडी फाँडेर ओम नमः एग्रो फार्मका सञ्चालक जनक अधिकारी र प्रदीप खत्रीले चार सय ५० कागतीका बिरुवा रोपेर बगैँचा स्थापना गरेका छन् । 

    ‘गाउँदेखि टाढा भएको र बाँदरले सताउन थालेपछि खेती गर्न छाडेको सिरानचौरको खेत झाडीमा परिणत भएको थियो’, उहाँले भन्नुभयो, ‘नाफा आयोजनाको सहयोगमा झाडी फाँडेर अहिले कागतीको बिरुवा रोपेर हराभरा बनाएका छौँ।’

    जलजला गाउँपालिका-५ लेकफाँटका दयाराम सापकोटा, मीनराज सापकोटा र सुरेश सापकोटाले धान खेतीको विकल्पमा २० रोपनी खेतमा सुन्तलाका बिरुवा रोप्नुभएको छ ।

    मिलनचोक बजारमा बस्दै आउनुभएका दयाराम बगैँचा स्थापना गरेपछि गाउँ फर्कनुभएको छ । धान, कोदो, मकैलगायत खाद्यबाली खेतीको तुलनामा कम लगानी र धेरै वर्षसम्म नगद आम्दानी हुने भएकाले सुन्तलाखेती गरेको जलजला गाउँपालिका-७ धाइरीङका तुलसी आचार्यले बताउनुभयो । 

    अनुगमन टोलीसँग किसानले आयोजनाले अनुदान उपलब्ध गराउन ढिलाइ गर्दा समस्या भएको गुनासो गरेका थिए । गत असारमै बगैँचा स्थापना गरेपनि आयोजनाले भुक्तानीमा ढिलाइ गरेको सञ्जोग कृषि फार्म जलजला-५ रातमाटाका वेदनाथ सुवेदीले बताउनुभयो । आयोजना प्रमुख काफ्लेले काम सम्पन्न गरेका फर्महरूको स्थलगत अनुगमन सकेपछि तत्कालै भुक्तानी दिने प्रतिबद्धता जनाउनुभयो ।

    –रासस