२७ असोज २०८२ सोमबार | 13 Oct 2025 Mon

एकै जिल्लामा फल्यो ५ करोड ५६ लाख किलो आलु



  • आफ्नै खबर
  • २७ असोज २०८२ सोमबार (२ घण्टा अघि)
  • पाठक संख्या ४७
  • बागलुङ/  यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् ।

    हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीमा लगानी गर्दै आएपछि किसानसमेत यसतर्फ आकर्षित भएका छन् । 

    यहाँको तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकालगायत क्षेत्रमा आलु उत्पादन बढी हुने गर्छ ।

    यस वर्ष दुई हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा आलु लगाइएकामा ५५ हजार ६ सय मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा यसवर्ष खेती गरेको क्षेत्री र उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।

    उहाँका अनुसार गत वर्ष तीन हजार सात सय हेक्टर क्षेत्रफलमा आलु लगाइएको थियो भने ५६ हजार दुई सय ४० मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष आठ सय ४० हेक्टर कम क्षेत्रफलमा आलु लगाइएको थियो ।

    किसानले उत्पादन गरेको आलु प्रति किलो ३५ रुपैयाँमा विक्री भएको अधिकारीले जानकारी दिनुभयो । ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ६० लाख रुपैयाँ, २०८१/८२ मा एक करोड ५९ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा ५५ लाख ९० हजार रुपैयाँ लागतमा नयाँ क्षेत्र विस्तार गरेको छ ।

    ‘बागलुङको माथिल्लो क्षेत्र आलु उत्पादनका लागि उपयुक्त हावापानी छ । यहाँ खायन आलु राम्रो उत्पादन हुने गरेको छ । किसानहरू उत्साहित भएर लाग्नुभएको छ । तीन वर्षदेखि यसको क्षेत्र विस्तार र उत्पादन बढाउनका लागि हामीहरू लागि रहेका छौँ’, अधिकारीले भन्नुभयो, ‘खायन आलु क्षेत्र विस्तारसँगै नयाँ प्रविधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिँचाइ व्यवस्थापन गरी उन्नत जातको बीउ लगाइने छ । यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु लगाउने लक्ष्य छ ।’

    यहाँ उत्पादित आलु बागलुङ, बुटवल, चितवनलगायत सहरमा पुग्ने गरेको छ । किसानले अघिल्लो वर्ष हिउँदे आलु प्रतिकिलो ४० र बर्खे आलु प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरे पनि यस वर्ष ३५ रुपैयाँमात्रै मूल्य पाएको ज्ञान केन्द्रले जनाएको छ । आलु लगाउने बेला लामो समय खडेरी पर्दा यसवर्ष उत्पादनमा थोरै गिरावट आएको हो ।

    –रासस