आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

३३ प्रतिशत बढ्यो अलैँची निर्यात


  • आफ्नै खबर
  • २०८२ कार्तिक ९, आईतबार मा प्रकाशित ३ महिना अघि
  • ४ पाठक संख्या
  • झापा/  मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको हो । 

    तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा एक अर्ब सात करोड २२ लाख रुपैयाँबराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो । 

    कार्यालयको तथ्याङ्कअनुसार चालु आवको तीन महिनामा चियाको निर्यातभने ४०.९ प्रतिशतले घटेको छ । उक्त अवधिमा एक अर्ब एक करोड २१ लाख ८६ हजार रुपैयाँबराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो । 

    कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट एक सय २६ प्रतिशत, छुर्पी ६१.८ प्रतिशत, प्लाइउड शतप्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ७१.४० प्रतिशत, धातुका अन्य अवशेष शतप्रतिशत, मुसुरो दाल चार सय ८१ प्रतिशतले वृद्धि भएको छ ।

    यसैगरी अदुवा ३२.३० प्रतिशत र अम्रिसो निर्यातमा २४ प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो तीन महिनामा चार अर्ब ८० करोड ३९ लाख २४ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु