आज: २०८२ चैत्र १८, बुधबार | Wed, 01, Apr, 2026

रसुवा बन्दैछ रेन्बो ट्राउटको वैज्ञानिक केन्द्र

हिमाली क्षेत्रमा आधारित कृषि प्रणालीलाई आधुनिक विज्ञानसँग जोड्ने अभियानका रूपमा यो केन्द्र विकसित भइरहेको छ ।

  • आफ्नै खबर
  • २०८२ चैत्र १८, बुधबार १ घण्टा अघि
  • ६२ पाठक संख्या
  • रसुवा/  हिमाली जिल्ला रसुवा केवल प्राकृतिक सौन्दर्य र पर्यटनको केन्द्रमात्र नभई पछिल्ला वर्षमा वैज्ञानिक कृषि अभ्यासको थलोका रूपमा पनि विकसित हुँदै गएको छ । हिमाली चिसो पानीमा आधारित माछापालन प्रविधिले अहिले नयाँ आर्थिक सम्भावनाको ढोका खोलेको हो ।

    जिल्ला सदरमुकाम धुन्चे नजिक इमरुङ क्षेत्रमा सञ्चालन भइरहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रबाट उत्पादित माछाका भुरा सुदूरपश्चिमको दार्चुलासम्म पुगेपछि हिमाली क्षेत्रको कृषि रूपान्तरणले नयाँ गति लिएको हो ।

    नेपालमा परम्परागत रूपले तराई क्षेत्रमा मात्रै माछापालन हुने मान्यता थियो । हिमाली क्षेत्रमा पनि माछापालन सम्भव छ भन्ने वैज्ञानिक प्रमाण यही केन्द्रले स्थापित गरेको छ । नेपालमा रेन्बो ट्राउट माछा भित्रिएको करिब पाँच दशक पुगिसकेको छ ।

    विदेशी सहयोग र वैज्ञानिक परीक्षणमार्फत हिमाली चिसो पानीमा यो प्रजाति अनुकूल हुने प्रमाणित भएपछि यसको व्यावसायिक सम्भावनाको प्रमाणितसँगै रेन्बो ट्राउट माछा पाल्न थालिएको थियो । सुरुमा बोकेझुण्डाबाट सुरु गरिएको माछापालन अहिले रसुवाका दर्जनौँ स्थानमा विस्तार भइसकेको छ ।

    उक्त सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्दै २०७१ सालदेखि धुन्चेको मत्स्य अनुसन्धान केन्द्रले व्यवस्थित रूपमा भुरा उत्पादन कार्यक्रम सुरु गरेको थियो । सुरुमा सीमित परीक्षणबाट गरिएको उत्पादन अहिले राष्ट्रियस्तरमा फैलिएको छ । हालसम्म रसुवामा उत्पादन भएका माछाका भुरा २७ भन्दा बढी जिल्लामा पुगिसकेका छन् ।

    दार्चुलासँगै बैतडी, मुगु, जुम्ला, कालीकोट, पर्वत, रुकुमपूर्व, रुकुमपश्चिम, गुल्मी, म्याग्दी, बागलुङ, कास्की, गोरखा, धादिङ, मकवानपुर, ललितपुर, काठमाडौँको शङ्करापुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सोलुखुम्बु, तेह्रथुम, ताप्लेजुङ र नुवाकोटसम्मका किसानले भुरा लैजाने गरेका केन्द्रले जनाएको छ ।

    केन्द्रका वैज्ञानिक प्रमुख महेन्द्रप्रसाद भण्डारीका अनुसार किसानको मागअनुसार विस्तारै उत्पादन बढाउँदै लगिएको छ ।

    यसले हिमाली कृषि प्रणालीमा परिवर्तन ल्याएको बताउँदै उहाँले सरकार मातहतमा सञ्चालन हुँदै आएको देशको एक मात्र रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले अण्डा उत्पादनदेखि भुरा वितरण र प्राविधिक तालिमसम्म एकीकृत सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

    यस केन्द्रले केवल उत्पादनमात्र नभई किसानलाई वैज्ञानिक ज्ञान र सीपसमेत प्रदान गर्दै आएको छ । जिल्लाभित्रका नागुङ, बोकेझुण्डा, सोले, ठुलोभार्खु, बाह्रघुम्ती, गतलाङ, गोल्जुङ र नेसिङलगायत क्षेत्रमा ट्राउट माछापालन विस्तार भइसकेको छ ।

    हिमाली क्षेत्रमा रोजगारी अभावका कारण विदेश पलायन बढिरहेका बेला ट्राउट माछापालनले स्थानीय युवालाई गाउँमै अवसर सृजना गर्न थालेको छ । केन्द्रबाट उत्पादन गरिएको आँखा खुलेका ट्राउट माछाका अण्डा भुटानसम्म निर्यात हुनु नेपाली मत्स्य अनुसन्धानको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । गत वर्ष माछाका भुरा भुटान पठाइएको मत्स्य प्राविधिकले बताएका छन् ।

    उन्नत मापदण्डअनुसार उत्पादन गरिने अण्डा र भुराले मनग्य प्रतिफल दिने भएकाले किसानको आकर्षण निरन्तर बढिरहेको केन्द्रका प्रमुख भण्डारीले बताउनुभयो । स्थापनाकालमा प्रतिकिलो तीन सय रुपैयाँ रहेकोमा अहिले बढेर एक हजार रुपैयाँ पुगेको जनाउँदै उहाँले पछिल्लो समय यसको मूल्य र माग दुवै बढेको धारणा राख्नुभयो ।

    ट्राउट माछाका भुरा उत्पादनका लागि नौदेखि ११ डिग्रीसेल्सियस तापक्रमको पानी आवश्यक पर्ने प्रमुख भण्डारीले जानकारी दिनुभयो । यो माछा पालनका लागि १४ देखि १८ डिग्रीसेल्सियस उपयुक्त मानिन्छ । धुन्चे केन्द्रमा त्रिशूली नदीको शुद्ध हिमाली पानी पाइपमार्फत एक किलोमिटरभन्दा टाढाबाट ल्याएर प्रयोग गरिएको छ, जुन वैज्ञानिक व्यवस्थापनको उत्कृष्ट उदाहरण हो ।

    मत्स्य केन्द्रका लागि आवश्यक पानी व्यवस्थापन गर्न दुईवटा ‘रिजर्भवायर’, ठूला पोखरी तथा साना गरी ६९ वटा पोखरी निर्माण गरिएका छन् । समुद्री सतहबाट एक हजार आठ सय ५० मिटर उचाइमा रहेको यो केन्द्र हिमाली मत्स्य अनुसन्धानका लागि प्राकृतिक प्रयोगशालाका रूपमा विकसित हुँदै गएको छ ।

    हाल केन्द्रमा अण्डा दिने दुई सय ७५ वटा माछा तयारी अवस्थामा छन् भने आगामी वर्ष उत्पादनका लागि आवश्यक अभिभावक माछासमेत व्यवस्थित रूपमा हुर्कंदैछन्फिङ्गरलिङ अवस्थाका माछा पनि पर्याप्त मात्रामा पोखरीमा भण्डारण गरिएकाले आगामी वर्ष उत्पादन अझ बढ्ने अपेक्षा गरिएको छ ।

    चालु आर्थिक वर्षमा मात्रै केन्द्रबाट एक लाख ११ हजारभन्दा बढी भुरा किसानलाई वितरण गरिसकिएको मत्स्य प्राविधिक विशेष कोइरालाले जानकारी दिनुभयो । पछिल्ला वर्षहरूमा ट्राउट माछाको परिकारप्रति उपभोक्ताको आकर्षण तीव्र रूपमा बढेको छ । विशेषगरी ट्राउटको झोल, फापर र मकैको ढिडोसँग खाने संस्कार लोकप्रिय बन्दै गएको छ ।

    रसुवा अस्पतालका सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले यो माछा मधुमेह, उच्च रक्तचापजस्ता बिरामीले समेत सेवन गर्न मिल्ने पौष्टिक भएको बताउनुभयो । ठुलोभार्खु माछापालन तथा रिसोर्ट सेन्टरका सञ्चालक याङ्जेन तामाङका अनुसार स्वास्थ्यप्रेमी उपभोक्ताले ट्राउट माछालाई विशेष प्राथमिकता दिन थालेका छन् ।

    हिमाली क्षेत्रमा आधारित कृषि प्रणालीलाई आधुनिक विज्ञानसँग जोड्ने अभियानका रूपमा यो केन्द्र विकसित भइरहेको छ । भविष्यमा यसलाई वैज्ञानिक अध्ययन, अनुसन्धान तथा प्रशिक्षण केन्द्रका रूपमा विस्तार गर्ने योजना पनि अघि बढाइएको छ ।

    रेन्बो ट्राउट माछापालनले हिमाली क्षेत्रको कृषि विविधिकरणमात्र होइन, ग्रामीण गरिबी न्यूनीकरण, रोजगारी सृजना र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ । रसुवाबाट सुरु भएको यो माछा अब दार्चुलादेखि पूर्वका हिमाली गाउँसम्म फैलिँदै नेपालको हिमाली अर्थतन्त्रलाई नयाँ दिशातर्फ अघि बढाइरहेको जनाइएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु