आज: २०८२ फागुन १, शुक्रबार | Fri, 13, Feb, 2026

प्रविधिको बढ्दो प्रयोग : पाटन दरबार सङ्ग्रहालयको टिकट अनलाइनबाटै


  • आफ्नै खबर
  • २०८२ फागुन १, शुक्रबार मा प्रकाशित २ घण्टा अघि
  • ४३ पाठक संख्या
  • ललितपुर/  विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ । दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

    सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले हाल अनलाइन टिकट बुकिङ प्रणाली परीक्षण चरणमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सङ्ग्रहालय परिसरमा रहेका दुईवटा काउन्टरमार्फत टिकट वितरण हुँदै आएको छ भने टिकट शुल्क क्यूआर कोडमार्फत भुक्तानी गर्ने व्यवस्था पहिले नै सुरु भइसकेको छ ।

    ‘हालसम्म भौतिक काउन्टरबाट टिकट काट्नुपर्ने बाध्यता थियो’, प्रमुख लाखेले भन्नुभयो, ‘अब घरबाटै अनलाइन माध्यम प्रयोग गरी टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेपछि पर्यटकहरूका लागि अझ सहज हुनेछ । हामी यो प्रणाली छिट्टै औपचारिक रूपमा सुरु गर्ने तयारीमा छौँ । अहिले परीक्षण भइरहेको छ ।’

    अनलाइन टिकट प्रणाली सञ्चालनमा आएपछि लामो लाइनमा बस्नुपर्ने झन्झट हट्ने, समयको बचत हुने तथा पर्यटक व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास सङ्ग्रहालय प्रशासनले लिएको छ । विशेषगरी पर्यटकको चाप बढी हुने सिजनमा यसले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

    पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार तीन सय पर्यटकले अवलोकन गरेका छन् । सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कुल एक लाख पाँच हजार तीन सय विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु