
म्याग्दी/ रघुगङ्गा गाउँपालिका-२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।
भगवतीका राज गिरीले तीन रोपनी जग्गा राखु भगवती प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो । सरकारी दररेट अनुसार करिब १४ लाख रुपैयाँ कायम भएको जग्गा स्थानीय बजारभाउमा सोभन्दा बढीपर्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो ।
जग्गादाता गिरी र उहाँकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान पनि गरेको छ । जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट र योजना माग गरिने उहाँले बताउनुभयो । राखु भगवती प्रहरी चौकी हाल भाडाको घरबाट सञ्चालन हुँदै आएको छ ।
म्याग्दीको इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना र घारको प्रहरी इकाईको अझै आफ्नै भवन छैन ।
सामुदायिक भवन र भाडाको घरबाट ती चौकी सञ्चालन भएका छन् । जग्गा प्राप्ती प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको छ ।
सिँगा तातोपानी प्रहरी चौकीको हालै भवन निर्माण भएको छ । बेनीको जिल्ला प्रहरी, कालीपुल, भुरुङ-तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस