
बैतडी/ बेलाबेला पानी परेकाले पाटन नगरपालिका–८ का किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा हुनुहुन्छ । वार्षिक आलुखेतीबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग हुनुहुन्छ ।
‘समयमै पानी परेका कारण उत्पादन राम्रो हुने आशामा छौँ । खेतहरू आलुखेतीले हरियाली भएका छन्’, विष्टले भन्नुभयो, ‘हामीले आलुसँगै अन्य सिजनअनुसारका तरकारीखेती पनि गर्दै आएका छौँ ।’
पाटन नगरपालिका–८, ९ र १० आलुखेतीका लागि पकेट क्षेत्र हुन् । विष्टजस्तै यहाँका अधिकांश किसान आलुखेतीसँगै अन्य मौसमअनुसारका तरकारीखेतीबाट नै आत्मनिर्भर बन्दै गएका छन् ।
बैतडीबाट मात्रै वार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । यस वर्ष समयसमयमा पानी परेकाले विगतको तुलनामा २० प्रतिशतसम्म वृद्धि हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो ।
आलुसँगै अन्य मौसमी तथा बेमौसमी तरकारीका लागि यो पकेट क्षेत्र भए तापनि शीतभण्डार र सिँचाइको अभावमा किसानले प्रत्येक वर्ष घाटा बेहोर्दै आएका छन् । यस क्षेत्रमा एउटा पनि शीतभण्डार छैन । आलुको बीउ राख्नका लागि यहाँबाट डडेल्धुरा लैजानुपर्ने बाध्यता रहेको किसानहरूले बताउँदै आएका छन् ।
प्रदेश र सङ्घीय सरकारको लगानीमा पाटन–८ खोड्पे क्षेत्रमै बनेका दुई शीतभण्डारहरू वर्षौँदेखि प्रयोगविहीन छन् । वर्षाैँदेखि अलपत्र अवस्थामा रहेको शीतभण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको र आलुको बीउसमेत राख्न समस्या हुने गरेको अर्का किसान नरबहादुर विष्ट बताउनुहुन्छ ।
यस क्षेत्रमा बनेका शीतभण्डार पनि प्रयोगमा छैनन् । शीतभण्डार सञ्चालन गर्न सरोकरवाला निकायले चासो नदेखाएको उहाँको गुनासो छ ।
पाटन नगरपालिका–८ खोड्पेमा प्रदेश सरकारको सहयोगमा करिब ४२ लाख रुपैयाँ लागतमा बनेको शीतभण्डार सञ्चालनमा आएको छैन ।
आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको शीतभण्डार सञ्चालनमा आउन सकेको छैन । शीतभण्डारका सञ्चालक मोहनदेव भट्टले प्रदेश सरकारको १५ लाख रुपैयाँ अनुदानमा निर्माण गरेको भए पनि प्रयोगमा ल्याएका छैनन् ।
शीतभण्डार निर्माणका क्रममा अनुदान पाएका भट्ट अहिले सम्पर्कमा नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जोशीले बताउनुभयो ।
त्यसैगरी, खोड्पे क्षेत्रमै बनेको अर्काे शीतभण्डारको काम सम्पन्न हुनसकेको छैन । साविकको नयाँ सहर आयोजनाको कार्यालयद्वारा ८४ लाख २९ हजार ८१ रुपैयाँ लागतमा बनेको शीतभण्डारमा विद्युत् जडान नहुँदा प्रयोगमा आउन नसकेको हो ।
विद्युत् जडानसँगै केही प्राविधिक उपकरण जडानको काम बाँकी छ । उक्त शीतभण्डारमा विद्युत् जडानका लागि बजेट नआएकाले आगामी वर्षका लागि माग गरिएको नयाँ सहर आयोजनाको कार्यालय गाभिएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका सूचना अधिकारी विशाल श्रेष्ठले जानकारी दिनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस