आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

 अश्वपालक महिलालाई सीपमूलक तालिम


  • आफ्नै खबर
  • २०८२ मंसिर २४, बुधबार ३ महिना अघि
  • ३३ पाठक संख्या
  • बाँके/  ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक महिलाका लागि तीन महिनाको सीपमूलक तालिम औपचारिक रूपमा सुरु गरिएको छ । 

    पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा बाँकेको आयोजनामा तथा गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिको प्रविधिक सहयोगमा सञ्चालन भइरहेको यो तालिमले घोडा, खच्चड, गधालगायतका अश्वजन्य पशुपालनमा संलग्न महिलालाई सिलाइ-कटाइ र बुनाइको व्यावसायिक सीप प्रदान गर्ने उद्देश्य राखेको छ ।

    भेरी प्राविधिक शिक्षालय प्रमुख आशा श्रेष्ठले नेपाल सरकारले देशभर महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमलाई अत्यधिक प्राथमिकताका साथ लागू गरिरहेको बताउनुभयो ।

    उहाँले बाँकेमा पनि विशेष गरेर मधेसी र मुस्लिम समुदायका महिला तथा किशोरीलाई सीपमा सक्षम बनाउन नेपाल सरकारले धेरै प्रभावकारी तालिमको आयोजना गरेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार यस किसिमका तालिम केवल सीप प्रदान गर्ने कार्य मात्र नभई महिलालाई आत्मविश्वासी र आर्थिक रूपमा सक्षम बनाउँछ ।

    उहाँले भन्नुभयो, ‘नेपाल सरकारले महिला उद्यमशीलता प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएको छ । तपाईँहरूले यो तालिम पूरा गरेपछि सरकारले उपलब्ध गराइरहेका विभिन्न सहुलियतपूर्ण कर्जा सुविधा, समूह उद्यम स्थापनाका अनुदान, उपकरण सहयोग र बजार पहुँच कार्यक्रमबाट प्रत्यक्ष लाभ लिन सक्नुहुन्छ ।’

    परियोजना संयोजक डा. सुदर्शन भट्टराईले पशुपालक समुदायका महिलाको वास्तविक आवश्यकता पहिचान गरेर तालिम सुरु गरिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अश्वपालक परिवारमा पुरुष प्रायः दिनभर घोडा र खच्चड लिएर बाहिर काममा निस्किन्छन् । घरमा बस्ने महिलासँग सीप नहुँदा उनीहरू आर्थिक गतिविधिबाट टाढिन बाध्य छन् । यो तालिमले उनीहरूलाई सीपसम्पन्न बनाएर स्वरोजगारतर्फ अघि बढाउनेछ ।’

    महिलाहरूले सीप सिक्ने प्रतिबद्धता देखाउनु नै ठूलो उपलब्धि भएकोले सीप सिकाउने मात्र नभइ आवश्यक परे स्वरोजगार स्थापना गर्न पनि मार्गदर्शन र अवसर प्रदान गर्ने उहाँको भनाइ थियो । 

    गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिका व्यवस्थापक निर्देशक मधु खड्काका अनुसार मङ्सिर २३ गतेदेखि फागुन २२ गतेसम्म सञ्चालन हुने यस तालिममा मुस्लिम समुदायका महिलासहित २० जना सहभागी भएका छन् ।

    खड्काका अनुसार तालिमलाई व्यवहारिक र पूर्ण व्यावसायिक बनाउने उद्देश्यले अनुभवी प्रशिक्षक सङ्गीता गौतमले सहभागीलाई प्रशिक्षण गर्नुहुनेछ ।

    सहभागीहरूलाई तालिमका लागी आवश्यक सामग्री तथा उपकरण उपलब्ध गराइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार तालिम सम्पन्न भएपछि महिलाहरूलाई स्वरोजगारका अवसर खोजिदिन तथा सीपलाई व्यवहारिक उद्यममा रूपान्तरण गर्नसमेत सहजीकरण गरिने छ ।

    –रासस
      

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु