आज: २०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

विदेशमा दुई दशक कमाएपछि स्वदेशमै रुचाएको गोठाले जीवन


  • आफ्नै खबर
  • २०८२ चैत्र १९, बिहिबार २ घण्टा अघि
  • ५६ पाठक संख्या
  • म्याग्दी/  रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याललाई सहरबजारको सुविधायुक्त बसाइ छाडेर भेडाबाख्राको पछि लागेर लेकबेसी गर्नुपर्ने बाध्यता थिएन ।

    सुविधा, अवसर र रोजगारीको लागि गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम क्षेत्रका रुपमा चिनिने मल्कवाङका हिमबहादुर भेडाबाख्रा पालेर जङ्गल पस्नुभएको छ ।

    ‘युएइमा २० वर्ष काम गरेर कमाएको पैसाले पोखरामा घरपरिवारसँगै विलासी जीवन बिताउन पनि पुग्ने थियो’, उहाँले भन्नुभयो, ‘आफ्नो जन्मिएको ठाउँमा पनि केही गरौँ । कोही गाउँ छाडेर गए पनि कोहीले केही गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर जन्मथलो फर्किएर ब्यावसायिक भेडाबाख्रा पालेको हो ।’

    हिमबहादुरले विदेशमा आर्जेको अनुभव र पूँजीलाई परिचालन गरेर जन्मथलोमा ‘मल्कवाङ भेडाबाख्रा फार्म’ सञ्चालन गर्नुभएको छ । उहाँका परिवार र आफन्त पोखरामा बसोबास गर्नुहुन्छ । उहाँ भने ६ सय भेडा चराउँदै हिउँदमा बेसीका फाँट र बर्खामा हिमालको काखमा घुम्ती गोठ लिएर पुग्ने गर्नुभएको छ ।

    ‘असोजमा बेसी झारेको भेडागोठ हिउँदभरी मल्कवाङको फेदी खालीखोलामा राखेँ’, उहाँले भन्नुभयो ‘वैशाख महिनासँगै गोठ लेकतिर सार्दै साउन–भदौमा धौलागिरि हिमालको बुकी पाटनमा पुर्याउछौँ ।’ सहरबजारको कोलाहल, प्रदूषण र तनाव भन्दा भेडाबाख्रासँगै लेकबेसी गर्दा रमाइलो लाग्ने हिमबहादुरले अनुभव सुनाउनुभयो ।

    एक वर्षमा तीन सयको हाराहारीमा भेडाबाख्रा बिक्री गर्ने हिमबहादुरले आफू स्वरोजगार बन्नुका साथै गाउँका तीन जनालाई रोजगारी दिनुभएको छ । करिब एक करोड रुपैयाँ लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुरले वार्षिक ३० देखि ४० लाख रुपैयाँको भेडाबाख्रा बिक्री हुने बताउनुभयो ।

    मासु र पूजाआजाका लागि गोठबाटै भेडाबाख्राको खसीबोका बिक्री हुन्छन् । उत्पादन गर्न सकेमा बजारको समस्या नभएको हिमबहादुरको अनुभव छ ।

    स्थानीय तहको सहयोग

    भेडाबाख्रालाई हिउँको चिसोबाट बचाउनका लागि धवलागिरि गाउँपालिकाले खालीखोलामा टहरा निर्माण गर्न सघाएको वडाध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।

    भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आन्तरिक तथा बाह्य परजीवी तथा महामारीकाविरुद्ध निःशुल्क खोपको व्यवस्था मिलाएको छ ।

    घुम्ती गोठमा भेडाबाख्राको सुरक्षाका लागि हिमबहादुरले पाँच वटा कुकुर पाल्नुभएको छ । खाद्यान्न ढुवानी गर्न दुई वटा घोडा पनि सँगै पाल्नुभएको छ । चरन क्षेत्रको कमी, वन्यजन्तुको आक्रमण र मौसममा आएको परिवर्तन भेडापालनमा चुनौती बनेको हिमबहादुरले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु