आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

आँट र जाँगर हुनेलाई बाँझो र झाडीले रोक्दैन


  • आफ्नै खबर
  • २०८३ जेष्ठ ६, बुधबार २ हफ्ता अघि
  • ७५ पाठक संख्या
  • स्याङ्जा/  भीरकोट नगरपालिकाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यवसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गरेका छन् । भीरकोट नगरपालिका–९ सिर्कोट पिपलडाँडामा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको हो ।

    एकपटक लगाएपछि केही वर्षसम्म उत्पादन तथा आम्दानी लिन पाइने, बजार मूल्य राम्रो रहेको र बजारीकरणमा समस्या नभएकाले अकबरे खुर्सानीखेतीमा युवाको आकर्षण बढेको हो । तीन–चार वर्षअघिदेखि थोरै मात्रामा खुर्सानीखेती गर्दै आएकामा उत्पादन राम्रो भएपछि व्यावसायिक रूपमा अगाडि बढेको किसान तनबहादुर गुरुङले बताउनुभयो ।

    वैदेशिक रोजगारीमा आठ वर्ष बिताउनुभएका गुरुङले आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्किएसँगै खुर्सानीखेती थाल्नुभएको हो ।

    ‘विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउन सकियो भने राम्रो हुने ठानेर स्वदेशमै खुर्सानीखेती गर्ने निधो गरेँ’, उहाँले भन्नुभयो, ‘जङ्गलैजङ्गल, बाँझो अनि पातीको झाडी फाडेर खुर्सानी लगाएका छौँ ।’

    अहिलेसम्म झन्डै १० हजार बिरुवा लगाइसक्नुभएका गुरुङले यस वर्ष २० हजार बिरुवा खुर्सानी लगाउनका लागि जमिनको तयारी गर्नुभएको छ । आफ्नै २० रोपनीका अलावा थप १० रोपनी जमिन भाडामा लिनुभएको छ ।

    ‘गाउँबाट बसाइँ सरेर बजार जाने प्रवृत्तिकै कारण गाउँका घरहरू रित्तिँदै गए, जग्गा जमिन बाँझिन थाले’, उहाँले भन्नुभयो, ‘बाँझिएको जमिनको सदुपयोग गर्दै आम्दानीसित जोडिँदै गाउँमै बसेर पनि केही गर्न सकिन्छ है भन्ने उदाहरण खुर्सानीले दिनेमा म विश्वस्त छु ।’

    गाउँघरमा प्रतिमाना एक सय रुपैयाँ र प्रतिकेजी तीन सय ५० रुपैयाँका दरले बिक्री गर्न सकिने व्यवसायी कुमार गुरुङले बताउनुभयो ।

    खुर्सानीको माग अत्यधिक रहेकाले खुर्सानी बिक्रीबाट यस वर्ष करिब १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य उहाँको छ । खुर्सानी लगाउनका लागि जग्गा जमिन सम्याउने, बिरुवा लगाउने कार्यका लागि हाल आठ जनाले रोजगारी पाएका छन् । अन्य बाली लगाउँदा बाँदरलगायत जङ्गली जनावरले नष्ट गरिदिने भएकाले खुर्सानीलाई विकल्पका रूपमा अगाडि सारिएको हो ।

    पछिल्लो समय भीरकोट नगरपालिकाले व्यावसायिक अकबरेखेती कार्यक्रमलाई कार्यान्वयनमा लगेको छ । भीरकोटको वडा नं. ९ मा झन्डै ९० रोपनी क्षेत्रफलमा व्यवसायिक खुर्सानीखेती थालिएको छ । विभिन्न समूह, सहकारी तथा व्यक्तिमार्फत वडामा झन्डै एक सय जना किसान खुर्सानीखेतीमा सहभागी भएका भीरकोट–९ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु