१ पुष २०८२ मंगलबार | 16 Dec 2025 Tue

 महानगरले हटायो बिपी उद्यान अतिक्रमण गर्नेलाई



  • आफ्नै खबर
  • २८ मंसिर २०८२ आईतबार (२ दिन अघि)
  • पाठक संख्या ७४
  • पर्सा/  वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ ।

    मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो । 

    उहाँले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताउनुभयो ।

    महानगर प्रमुख सिंहले भन्नुभयो, ‘अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने काम गरेका छौँ । यहाँ  व्यापार गर्दै आएकाहरूले सरसमान हटाउने काम गरिरहेका छन् ।’ 

    यहाँ अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल र विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा बढीले व्यापार गरिरहेका थिए । महानगर प्रमुख सिंहले अब करिब ७० करोड रुपैयाँ खर्चेर सुन्दर र हरियाली पार्क बनाउने योजना अघि बढाउने बताउनुभयो ।

    यहाँबाट हटाइएकाहरूका लागि छपकैयास्थित रेल्वे सडकमा आवश्यक संरचना तयार गरिएको उहाँले जानकारी दिनुभयो । 

    आज बिहानैदेखि नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा बजार खाली गराइएको हो ।

    –रासस