काठमाडौँ/ छठ पर्वका अवसरमा राजधानीमा भक्तजनको उपस्थिति बढ्न थालेपछि छठघाट बढाउनुपर्ने माग बढ्न थालेको छ । राजधानीमा सबैभन्दा बढी छठका बर्तालु पशुपति क्षेत्रस्थित गुह्येश्वरी-गौरीघाटमा जम्मा भएका थिए । श्री छठ पूजा समिति गौरीघाट-गुह्येश्वरीले यस वर्ष ६ सय छठघाट निर्माण गरेको थियो ।
छठघाट माग गर्ने भक्तजन बढेपछि सहज व्यवस्थापनमा सास्ती भएको समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिनुभयो । पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत सरोकार भएका निकायलाई छठघाट बढाउन माग गरिएको पनि उहाँले बताउनुभयो ।
अर्को वर्ष कम्तीमा पनि सात सय छठघाट निर्माण गर्नुपर्ने आवश्यकता देखिएको जनाउँदै उहाँले अधिकार सम्पन्न वाग्मती समितिको कार्यालयअघिको नदी किनारका दायाँबायाँ भागमा छठघाट थप गर्न सकिने धारणा राख्नुभयो ।
गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनार दायाँबायाँ छठका दिन (कात्तिक १० गते) बेलुकी पाँच लाख भक्तजन पुगेका समितिको अनुमान छ । नेटवर्क सहजीकरण भ्यानले उक्त क्षेत्रमा चलेका मोबाइल नेटवर्कका आधारमा पाँच लाख बढी भक्तजन गुह्येश्वरी-गौरीघाट क्षेत्रमा पुगेका जानकारी दिएको छठ व्यवस्थापनमा सक्रिय हुनुभएका निखिल विश्वासले उल्लेख गर्नुभयो ।
२०६२ सालमा समिति दर्ता भएर गुह्येश्वरी-गौरीघाट क्षेत्रमा छठ पूजा गर्ने वातावरण बनाइएको थियो । समिति दर्ता भएका बेला वर्षमा ३० देखि ४० वटा मात्र छठघाटमा पूजा, आराधना गर्ने गरी भक्तजन जम्मा हुने गर्दथे । त्यसबेला बढीमा दुईदेखि तीन सय श्रद्धालु भक्तजन मात्र यहाँको छठ मेलामा जम्मा हुने गरेका अध्यक्ष सिंहले स्मरण गर्नुभयो ।
लाखौँ मानिस नदी किनारमा बसेर छठी माताको पूजा, आराधना गरेपनि त्यस अनुसारका पूर्वाधार नहुँदा भक्तजनलाई असहज भएको थियो ।
छठका माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले यस क्षेत्रको पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने बर्तालु धम्मावती कुशवाहले बताउनुभयो । बेलुकी अस्ताउँदो सूर्यलाई पूजा, आराधना गरी अर्घ्य दिएर रातभर छठीमाताको आराधना गरेर जागरण बस्ने भक्तजनले शौचालय नपाएर छटपटिने अवस्थाको अनुभव आफूले गरेको उहाँको भनाइ छ ।
लाखौँ भक्तजन उपस्थित हुने भएपछि कम्तीमा पर्याप्त मात्रामा शौचालयको व्यवस्था गरिनुपर्ने अधिकांश भक्तजन माग छ । समितिले एउटा छठघाटको एक हजार पाँच सय रुपैयाँ लिएर भक्तजनलाई उपलब्ध गराउने गरेकामा केही भक्तजनले भने गुनासो गरेका छन् ।
पशुपति क्षेत्रमा हुने अन्य पर्वका भक्तजनसँग शुल्क नलिने गरिएकामा छठका बर्तालुसँग किन शुल्क लिइएको भन्ने गुनासो भक्तजनले गर्ने गरेका कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले बताउनुभयो । उहाँको अनुसार उक्त शुल्क समितिले उठाउने गरेको छ । कोषले प्रारम्भिक बैठक राखेर सरोकार भएका निकायबीच आवश्यक समन्वय मात्र गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
भक्तजन श्यामसुन्दर रायले प्रश्न गर्नुभयो, ‘दुई हप्तापछि पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्व मनाइँदैछ । बाला चतुर्दशीलगायत अन्य पर्वमा आउने भक्तजनसँग कुनै शुल्क नलिन कोषले सार्वजनिक रूपमा आह्वान गर्दछ । तर छठ पर्वमा भने किन शुल्क लिइएको ?’ छठ पूजाको व्यवस्थापन पनि कोषले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
समितिले ३५ वटा छठघाट निःशुल्क भक्तजनलाई दिइएको जनाएको छ । शुल्क तिर्न नसक्ने तर विधिपूर्वक छठीमाता, सूर्यदेव र वाग्मती नदीको पूजा आराधना गर्न चाहनेका लागि समितिले उक्त सेवा दिएको थियो । छठ व्रत गर्न चाहने तर पूजा सामग्री किन्न नसक्ने श्रद्धालु भक्तजनका लागि पूजा सामग्रीको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।
बढ्दै पहाडीमूलका भक्तजन
सुरुआती वर्षमा गुह्येश्वरी गौरीघाटको छठ पूजामा एक प्रतिशत पनि पहाडीमूलका मानिस सहभागी नहुने अवस्था थियो । पहाडी समुदायको सहभागिता क्रमशः छठ पूजामा बढ्दै गएको हो । यस वर्ष २१ प्रतिशत पहाडी मूलका मानिसले छठघाट दर्ता (आफ्ना लागि स्थान सुरक्षित गर्नु) गरेर विधिपूर्वक पूजा आराधना गरेका थिए ।
बीस वर्षअघिसम्म गौरीघाट-गुह्येश्वरी क्षेत्रमा छठ मनाउने मानिस फाट्टफुट्टमात्र हुने गरेको आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछानेले स्मरण गर्नुभयो । छठको चारदिने अवधिमा नदीमा मानिसले सफा गरेझै ३६५ दिन सरसफाइ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीलाई कुनै पर्व विशेषमा मात्र नभई सधैँ सफा राखिनुपर्ने भक्तजनको पनि माग छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वका अवसरमा गुह्येश्वरी-गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि विशेष रुपमा सजाइने गरिएको छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लाग्ने गर्छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बन्ने गर्दछ ।
यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत विभिन्न स्थानका नख्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको थियो । यी स्थानमा छठघाटसँगै छठीमाताको माटाको मूर्ति पनि निर्माण गरेर सजाइएको थियो ।
लाखौँ भक्तजन उपस्थित हुने मेलाका लागि निजी क्षेत्रको सेक्युरिटी कम्पनीसहित नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीलाई पनि गुह्येश्वरी गौरीघाट क्षेत्रमा खटाइएको थियो ।
छठ व्रत गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रोपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको विश्वास रहिआएको छ ।
छठ पर्वमा पहाडी समुदायमात्र होइन मुस्लिम समुदायको पनि उत्तिकै सहभागिता रहने गरेको छ । यसले धार्मिक सद्भाव पनि बढाएको छ । कति मुस्लिम समुदाय त छठ घाटमै पुगेर विधिपूर्वक व्रत गर्ने गरेका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस