१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

देउसी भैलोको पैसाले सडक निर्माण



  • आफ्नै खबर
  • १० कात्तिक २०८२ सोमबार (४ हप्ता अघि)
  • पाठक संख्या १४४
  • म्याग्दी/  धवलागिरि गाउँपालिका-१ गुर्जामा आमा समूहले देउसी भैलो खेलेर सङ्कलन गरेको रकम सडक निर्माणमा सहयोग गरेका छन् । तिहारको अवसरमा स्थानीय हिमाली आमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट दुई लाख रुपैयाँ गाउँमा सडक निर्माण गर्ने योजनामा सहयोग गरेका हुन् । 

    गुर्जा म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै वडा हो । देउसी भैलोमा सङ्कलन भएको चार लाख नौ हजार रुपैयाँमध्ये दुर्गम र विकट बस्तीको रुपमा परिचित गुर्जा गाउँमा सडक सञ्जालको पहुँच पुर्याउने योजनालाई दुई लाख रुपैयाँ सहयोग गरिएको आमा समूहका अध्यक्ष ज्ञानकुमारी छन्त्यालले बताउनुभयो ।

    गाउँमा छिटो मोटरबाटो जोडियोस भन्ने उद्देश्यले आमा समूहको बैठकबाट निर्णय गरेर उक्त सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । आइतबार आयोजित एक कार्यक्रममा आमा समूहका अध्यक्ष छन्त्यालले वडा सदस्यद्वय गुनराम छन्त्याल र केआई सिंह छन्त्याललाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ ।

    आमा समूहले मौलिक कला र संस्कृतिको जगेर्नाका लागि सञ्चालन गरेको मौलिक देउसी भैलोबाट सङ्कलन गरेको दान रकमलाई सडक निर्माणको लागि सहयोग गरी नमूना काम गरेको वडा सदस्य गुनराम छन्त्यालले बताउनुभयो । 

    उहाँका अनुसार, उक्त रकम वडा कार्यालयमार्फत सडक निर्माण योजनाको अगुवाइ गरिरहेको गुर्जा विकासमञ्च पोखरालाई उपलब्ध गराइनेछ । धवलागिरि गाउँपालिका-२ लुलाङदेखि देउरालीहुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म सडकको पहुँच पुर्याउन करिब पाँच किलोमिटर सडकको ट्रयाक निर्माण गर्न बाँकी रहेको छ ।

    यसअघि पनि सरकारी बजेटको अतिरिक्त स्वदेश तथा विदेशमा रहेका गुर्जावासीले गाउँमा सडक पुर्याउने योजनामा आन्तरिक स्रोत जुटाएरसमेत सडकको ट्रयाक विस्तारको काम गर्दै आएका छन् ।

    चालु आर्थिक वर्षभित्र गुर्जा गाउँमा सडकको पहुँच पुर्याउने लक्ष्यकासाथ गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट विनियोजन भएको बजेटलाई परिचालन गर्ने तयारी गरिएको गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार लुलाङ-गुर्जा सडकका लागि यसवर्ष सङ्घीय सरकारले समपुरक बजेटबाट एक करोड ४० लाख, गाउँपालिकाले समपुरक साझेदारी बजेट ३५ लाख, सहरी विकास मन्त्रालयबाट तीन करोड र गण्डकी प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

    –रासस