
बागलुङ/ यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको हो ।
गत वर्षको तुलनामा यसवर्ष सात सय ८४.४ मेट्रिकटन धान बढी उत्पादन भएको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिनुभयो । अघिल्लो वर्ष २० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष २० हजार सात सय ८४.४ मेट्रिकटन उत्पादन भएको छ ।
अघिल्लो वर्ष रोपाइँ सकिएपछि धानमा जरा कुहिने रोग लाग्दा उत्पादनमा ह्रास आएको भन्दै यसपालि कम क्षति हुँदा उत्पादन केही परिमाणमा बढेको शर्माले बताउनुभयो ।
बागलुङ धान उत्पादनमा आत्मनिर्भर छैन । यहाँका किसानले खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन लगायतका जातका धानखेती गर्दै आएको शर्मा बताउनुहुन्छ । पछिल्लो समय हाइब्रिड जातका धानखेती गर्न थालेको उहाँको भनाइ छ ।
‘धानखेती तर्फ किसानको चासो बढी छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष झण्डै एक हजार मेट्रिकटन धान बढी उत्पादन भएको छ । गत वर्षको तुलनामा यसवर्ष वर्षा पनि समयमै भयो । जरा कुहिने रोगले पनि कम क्षति गर्दा उत्पादन बढेको हो’, शर्माले भन्नुभयो, ‘किसानले धान खेतीलाई प्राथमिकता दिएको पाइन्छ । खेती गरेको क्षेत्रफलका हिसाबले उत्पादकत्व ठिकै हो ।’
जिल्लाको पश्चिम गलकोट, रेशा, सिगाना, जैदी, छिस्तीलगायतका क्षेत्रमा बाहेक धेरै स्थानमा सिँचाइको व्यवस्था छैन । यसवर्ष धान भित्र्याउने समयमा ठूलो वर्षा भए पनि उत्पादन नघटेको गलकोट नगरपालिका-६ का किसान कृष्ण खत्रीले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा तीन मुरी धान बढी उत्पादन भएको उहाँको भनाइ छ ।
जैमिनी नगरपालिका-७ का नरेन्द्र पौडेलले गतवर्ष १३ मुरी धान उत्पादन भएको खेतमा यसवर्ष १६ मुरी फलेको बताउनुभयो । गत वर्ष वर्षा ढिलो हुँदा सिँचाइ गर्न नपाएको भन्दै यसवर्ष त्यस्तो समस्या नभएको सुनाउनुभयो ।
बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ । ६ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा छ ।
–रासस
प्रतिक्रिया दिनुहोस