आज: २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026

एउटै पालिकामा उत्पादन भयो एक लाख लिटर मह


  • आफ्नै खबर
  • २०८२ फागुन २७, बुधबार मा प्रकाशित ९ घण्टा अघि
  • ८७ पाठक संख्या
  • कास्की/  रूपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ । कृषकहरूलाई मौरीपालनमा आकर्षित गर्ने गरी गाउँपालिकाले लगानी बढाउँदै जाँदा महको उत्पादन पनि बढेको हो ।

    तीन वर्ष अघि मौरीपालनका लागि नमूना परीक्षण सुरु गरेको गाउँपालिकाले यसको सम्भावना देखेसँगै कृषकलाई प्रोत्साहित गर्ने गरी अनुदानको कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।

    गाउँपालिकाभित्रका कृषकका लागि दुई हजार एक सय मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिसकिएको बताउँदै उहाँले यस वर्ष गाउँपालिकाभित्र एक लाख लिटर मह उत्पादन भएको जानकारी दिनुभयो ।

    उत्पादित महको बजारीकरणमा समस्या नभएको उल्लेख गर्दै उहाँले घरघरबाटै मह बिक्री हुने गरेको बताउनुभयो । मौरी पालनसँगै गाउँपालिकाभित्र करिब सात सय जना स्वरोजगार बनेको उहाँको भनाइ छ ।

    उहाँका अनुसार विशेषतः मौरीपालनमा वडा नं. १ देउपुर बेसी, वडा नं. २ को सिर्कुतान, वडा नं. ३ को छापपाखा, वडा नं. ४ को माउ डाँडा, वडा नं. ५ को देउराली/देउराली फेदी, वडा नं. ६ को भिरचोक/खोलाको छेउ र वडा नं. ७ को काउरे/हंशपुर/माझठानालगायतका स्थानमा मौरीपालनतर्फको आकर्षण बढिरहेको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु