९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

एकै याममा तीन सय विदेशी पुगे कञ्चनजङ्घा



  • दिलकुमार लिम्बू
  • १० कात्तिक २०८२ सोमबार (४ हप्ता अघि)
  • पाठक संख्या १४९
  • ताप्लेजुङ/  पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल (पिक) आरोहण गर्न सुरुवात भएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार आठ सय आठ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए ।

    अन्नपू्र्ण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिसनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चार्ल्स इली वेद्रिन्स र निकोलस पाउल अरीस्टाइड छन् । गतसाता चिलिका एक नागरिकले कञ्चनजङ्घा हिमालको काखमै रहेको पाथीभरा हिमालको सफल आरोहण गरेको थिए । 

    विश्वको ३२औँं अग्लो र नेपालको १५औँ अग्लो कुम्भकर्ण(फक्ताङलुङ) हिमाल आरोहण गर्नका लागि फ्रान्सका तीन नागरिक उक्त हिमालको आधार शिविर क्षेत्रमा पुगेको पर्यटन सहायक शेर्पाले बताउनुभयो । उक्त हिमालको उचाइ सात हजार सात सय १० मिटर उचाइ रहेको छ । 

    २०१९ सालमा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका बताइएको छ । पछिल्लो वर्षहरूमा यहाँका हिमालहरू उत्साहकासाथ आरोहण गर्न थालिएका छन् । गत वर्षको कात्तिकमा चारजना दक्षिण कोरियन नागरिकले ६ हजार तीन सय २८ मिटर उचाइमा रहेको शार्फु-५ हिमालको पहिलो पटक सफल आरोहण गरेको थिए ।

    गत वर्षको चैतमा शार्फु-४ हिमालमा पहिलो पटक आरोहण गरिएको थियो । चिलिका नागरिक हर्नान लील, पर्वतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले ६ हजार चार सय ३३ मिटर उचाइका शार्फु-४ हिमालको पहिलो पटक आरोहण गर्न सफल भएका थिए ।

    कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार तीन सय जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण गरेका छन् । केहीले घुन्सा क्षेत्रमा विश्राम गरेका छन् । गत भदौ महिनाको तेस्रो सातादेखि मङ्सिर १५ गतेसम्म कञ्चनजङ्घा भ्रमणको याम रहने शेर्पाले बताउनुभयो । 

    पर्यटन विभागका अनुसार गत वर्षको याममा अर्थात मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला गरी ४१ जनाले आठ हजार पाँच सय ५६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको चुचुरोमा सफलतापूर्वक आरोहण गरेका थिए । उक्त आरोहणबाट एक करोड ९७ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको थियो । 

    –रासस