१ पुष २०८२ मंगलबार | 16 Dec 2025 Tue

२२०० विद्यार्थी काठमाडौँ विश्वविद्यालयबाट दीक्षित



  • आफ्नै खबर
  • २४ मंसिर २०८२ बुधबार (६ दिन अघि)
  • पाठक संख्या ९२
  • काभ्रेपलाञ्चोक/  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा आज ३१ औँ दीक्षान्त समारोह (पहिलो चरण) मा दुई हजार दुई सय नौ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका एक सय ९६ विदेशी विद्यार्थी रहेका छन् । 

    समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका दुई सय ९४, स्कुल अफ इन्जिनियरिङका तीन सय ४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका तीन सय ७८, स्कुल अफ मेडिकल साइन्सेजका आठ सय ८१ र स्कुल अफ साइन्सका एक सय ९७ जना रहेका विश्वविद्यालयले जनाएको छ ।

    दीक्षितमध्ये पिएचडी, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका तीन सय ९७, पिजिडी तहका ५० र स्नातक तहका एक हजार सात सय २८ जना रहेका छन् । 

    दीक्षित हुने १९६ मध्ये अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका र भियतनामका विद्यार्थी रहेको विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्लेले जानकारी दिनुभयो ।

    स्नातकोत्तर तहमा सबैभन्दा बढी चार सिजिपिए प्राप्त गर्ने मास्टर्स अफ आर्टस इन ट्रान्सलेसन, टेक्सुअल इन्टरप्रिटेसन एन्ड फिलोलोजी अध्यनरत स्पेनकी माइते कास्टेलानो मेन्चाकालाई चान्सलर स्वर्णपदक र स्नातक तहमा सबैभन्दा बढी ८५.४५ प्रतिशत अङ्क प्राप्त गर्ने एमबिबिएसतर्फ नोबेल मेडिकल कलेज विराटनगरका गौरव सिंह साउदलाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरिएको थियो ।

    एमबिए तहमा सबैभन्दा बढी सिजिपिए ३.९४ ल्याउने स्कुल अफ म्यानेजमेन्टका अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक ३.९४ सजिपिए ल्याउने स्कुल अफ मेनेजमेन्टका सौगात दङ्गाललाई प्रदान गरिएको छ । 

    प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजित समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन तथा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका उपकुलपति प्राध्यापक शान्तिश्री धुलिपुडी पण्डितको सहभागिता रहेको थियो ।

    ३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षितको हुनेको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये पाँच हजार आठ सय ६० विदेशी विद्यार्थी अर्थात् करिब १२ प्रतिशत रहेको जनाइएको छ ।