९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

उडान ठप्प हुँदा लुक्ला र नाम्चेका होटलमा खचाखच पर्यटक 



  • सुवास दर्नाल
  •     (३ हप्ता अघि)
  • पाठक संख्या ९१
  • सोलुखुम्बु/  प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ-हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ । निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ ।  

    हवाई उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटिसी) नवराज कटुवालका अनुसार निरन्तर झरी परेकाले बिहीबारदेखि हवाई उडान हुन सकेको छैन । यस याममा दैनिक औसत ६० भन्दा हवाई उडान हुने गरे पनि अहिले सबै ठप्प भएको उहाँले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘झरी परेकाले भिजिविलिटी न्यून छ । विमान मात्रै नभई हेलिकप्टरको उडान पनि हुन सकेको छैन । गत बिहीबार केही हेलिकप्टरको उडान भए पनि अहिले भएको छैन ।’ 
    हवाई उडान रोकिएसँगै खुम्बु क्षेत्र भ्रमण गरी फर्कने तयारीमा रहेका पर्यटकहरु लुक्लामै अड्किएका छन् । यतिबेला लुक्लाका होटल र गेस्टहाउस पर्यटकले भरिएका छन् । 

    तारा एयरलाइन्स लुक्लाका इञ्चार्ज अमृत मगरका अनुसार एयरलाइन्सबाट टिकट काटेका करिब एक हजार पाँच सय पर्यटक लुक्लामै अड्किएका छन् । उहाँले भन्नुभयो, ‘लुक्लाका सबै होटल भरिएका छन् । नयाँ पाहुनाका लागि कोठा पाउन मुस्किल भएको छ ।’

    पर्यटकलाई होटलले लबीमै बसाल्नु परेको स्थानीय तोयाकुमार श्रेष्ठले बताउनुभयो । फ्रान्सबाट आउनुभएकी पर्यटक ज्युली मारीले आफूहरू हवाई उडानको प्रतीक्षामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘हामी सगरमाथा आधारशिविर पुगेर तीन दिनअघि लुक्ला फर्किएका छौँ । हवाई उडान नहुँदा यही रोकिएको अवस्था छ ।’

    नाम्चेमा पनि उस्तै भीड
    लुक्लामा मात्रै होइन नाम्चेबजारका होटल पनि पर्यटकले भरिएका छन् । नाम्चेमा मात्रै करिब एक हजार दुई सय पर्यटक रोकिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘लगातारको झरी र माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ । माथिल्लो क्षेत्रमा गएका पर्यटक नाम्चे आइपुगेका छन् । लुक्लाबाट माथि हिँडेका पर्यटक पनि नाम्चेमै अड्कीएका छन् । यतिबेला नाम्चेका होटलमा शतप्रतिशत अकुपेन्सी छ ।’

    नाम्चे पुगेका टेक राईका अनुसार नाम्चेमा चार दिनदेखि घाम लागेको छैन । पाहुनाहरू पुस्तक पढ्दै, सङ्गीत सुन्दै दिन कटाइरहेका छन् । 

    सडक मार्ग पनि सहज छैन
    हवाई उडान ठप्प भएपछि केही पर्यटक भने लुक्लाबाट सल्लेरी हुँदै स्थलमार्गबाट काठमाडौँ फर्किने प्रयासमा छन् । तर त्यो बाटो पनि सहज छैन । पर्यटन व्यवसायी बल दर्नालका अनुसार बर्खाका कारण सोलुखुम्बु-काठमाडौँ सडकखण्डका विभिन्न ठाउँमा पहिरो र हिलोका कारण आवागमन अवरुद्ध भएको छ । 

    विशेषगरी बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली आसपासमा भारी वर्षा र हिलोका कारण सवारीसाधन घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था आएको छ । 

    मौसम अझै नखुल्ने सङ्केत
    काठमाडौँस्थित जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन अझै सक्रिय छ र अहिले पनि भारी वर्षा र हिमपात हुने सम्भावना छ । उहाँले भन्नुभयो, ‘कोशी प्रदेशसहितका हिमाली र पहाडी क्षेत्रमा अझै दुईदेखि तीन दिनसम्म वर्षा हुने सम्भावना छ । त्यसपछि मात्र मौसम विस्तारै खुल्ने अनुमान छ ।’

    –रासस