९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

‘मोहनी’ लगाउँदै मनमोहक मानुङकोट



  • आफ्नै खबर
  • ११ कात्तिक २०८२ मंगलबार (४ हप्ता अघि)
  • पाठक संख्या १६९
  • तनहुँ/  ‘सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो’, पोखराकी लक्ष्मी कार्कीले भन्नुभयो, ‘यहाँबाट देखिने सूर्योदय र हिमशृङ्खलाले लोभ्यायो ।’

    पोखराबाट सोमबार बिहान २ः०० बजे गाडी भाडामा लिएर व्यास नगरपालिका-५ मानुङकोट आउनुभएकी उहाँले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरेभन्दा अझ राम्रो लागेको उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, ‘मानुङकोटका बारेमा धेरै सुनेका थियौँ । साथीहरूसँग सल्लाह गरेर चार जना मिलेर आएका हौँ ।’

    काठमाडौँबाट आउनुभएकी लुनिभा श्रेष्ठले मानुङकोटको सुन्दरताले मोहनी लगाउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘आउन मन भए पनि पहिला विविध कारणले आउन सकिएको थिएन । अहिले तिहार बिदाका कारण यहाँ आउने वातावरण जुर्यो, दृश्यले लोभ्यायो ।’

    दमौलीका सुदीप गफ्फारले यतिबेला मानुङकोटमा पर्यटकको अत्यधिक चहलपहल भएकाले होटल व्यवसायीसँग पहिल्यै सम्पर्क गरेर आउनुपर्ने अवस्था रहेको बताउनुभयो । 

    चिसो मौसम सुरु भएसँगै मानुङकोटमा यतिबेला दैनिक पर्यटकको चहलपहल बढेको छ । हाल दैनिक एक हजारभन्दा बढी पर्यटक मानुङकोट पुग्ने गरेका छन् । सोमबार बिहान करिब दुई हजार पर्यटकले मानुङकोटबाट दृश्यावलोकन गरेका छन् । 

    मानुङकोटस्थित अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेश सुनामले यतिबेला पर्यटकको सिजन रहेको जानकारी दिँदै दसैँ तिहारसँगै पर्यटकको चहलपहल बाक्लिएको बताउनुभयो । चिसो मौसममा सूर्योदय, कुहिरो, सूर्यास्तले यहाँ आउने पर्यटक लोभिने गरेको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘अहिलेका बेला भनेको पर्यटकको चाप हुने समय हो । पहिल्यै आफ्नो बस्ने स्थान सुरक्षित गरेर आउँदा सहज हुन्छ । हामीले प्रतिव्यक्ति एक हजार दुई सय रुपैयाँमा रातको बास, खाना र बिहानको नास्ता उपलब्ध गराइरहेका छौँ ।’ उहाँले आफ्नो रेष्टुराँमा दैनिक ७० जना बास बस्ने क्षमता रहेको जानकारी गराउनुभयो ।

    मानुङकोटमा पर्यटक उक्लिनेक्रम बढेपछि यहाँ होटल खुल्नेक्रम बढेको छ । विगतमा होटल नरहेको यस ठाउँमा अहिले एक दर्जन सञ्चालनमा छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ । 

    मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।

    परापूर्वकालमा महर्षि वेदव्यासका पिता परासर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । 

    मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

    मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।

    –रासस