९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

दुई कट्ठाको आम्दानी वर्षको १० लाख



  • आफ्नै खबर
  • १० कात्तिक २०८२ सोमबार (४ हप्ता अघि)
  • पाठक संख्या १७०
  • कैलाली/  धनगढी उपमहानगरपालिका-११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आउनुभएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो । 

    पाँच वर्षअघि ६० हजार रुपैयाँ लगानीमा एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल दुई कट्ठा जग्गा भाडामा लिएर त्यसमा सातवटा टनेल बनाएर च्याउखेती गरिरहनुभएको छ । बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका उहाँले त्यसबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।

    चौधरीले भन्नुभयो, ‘पहिले ज्ञान, सीप कम थियो । ६ महिनामात्रै च्याउ उत्पादन गर्थेँ । बिस्तारै अनुभव पनि बढ्यो । हाल बाह्रै महिना उत्पादन गर्न थालेको छु । आम्दानी पनि राम्रै छ ।’

    सातवटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर वार्षिक १० लाख रुपैयाँ आम्दानी हुने उहाँले सुनाउनुभयो । हाल बजारमा च्याउ प्रतिकिलो एक सय ८० रुपैयाँका दरले बिक्री भइरहेको छ । चौधरीले बजारको मागअनुसार च्याउ आपूर्ति गर्न सकिए अझै आम्दानी बढ्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘बजारमा माग बढी छ । मैले मागअनुसार च्याउ पूर्ति गर्न सकिरहेको छैन । हाल प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।’

    चौधरी च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने गरेको बताउनुहुन्छ । यसै व्यवसायबाट चार जनाको परिवारको लालनपालन, छोराछोरीको पढाइलेखाइ खर्च राम्रै चलिरहेको र बचत पनि हुने गरेको उहाँले जानकारी दिनुभयो । यसबाटै भएको कमाईबाट च्याउ ढुवानीका लागि एउटा विद्युतीय अटोरिक्सा पनि किनेको चौधरीले बताउनुभयो । 

    ‘आफ्नो परिवारको खर्च धान्ने मात्रै होइन, आठ जनालाई रोजगारीसमेत दिएको छु’, चौधरीले भन्नुभयो, ‘हाल ज्यालादारीमा दैनिक आठ जनालाई रोजगारी दिएको छु । दैनिक प्रतिव्यक्ति ६ देखि सात सय रुपैयाँसम्म ७०० सम्म ज्याला दिने गरेको छु ।’

    –रासस