७  २०८२ बुधबार | 21 Jan 2026 Wed

पर्यटन प्रवर्द्धन गर्न ‘रेडपाण्डा म्याराथन’



  • आफ्नै खबर
  • २६  २०८२ शुक्रबार (१ महिना अघि)
  • पाठक संख्या १५२
  • इलाम/  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १ गते इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ । इलाम सदरमुकामदेखि नेपाल-भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको म्याराथन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिनुभयो । 

    रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहकार्यमा प्रतियोगिता आयोजना हुन लागेको हो । पुरुष र महिलातर्फका म्याराथनअन्तर्गत धावकहरू इलाम सदरमुकामस्थित चोक बजार (११२० मिटर उचाइ) बाट सन्दकपुर डाँडा (३६१० मिटर उचाइ) सम्म ४४.२ किलोमिटर दूरीमा दौडिनेछन् । 

    प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरीबल, नेपाल प्रहरीसहित देशभरका एक सयभन्दा बढी धावक सहभागी हुनेछन् । प्रतियोगिताका पुरुष र महिलातर्फ छुट्टाछुट्टै पहिलो हुनेले एक लाख ५० हजार, दोस्रो हुनेले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक दीपज्योति युवा क्लबले जनाएको छ ।

    त्यसैगरी, स्थानीय विधातर्फ इलाम, पाँचथर र ताप्लेजुङका धावकका लागीसमेत छुट्टै प्रतियोगिता हुनेछन् । पुरुष र महिलातर्फका पहिलो हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार र चौथो हुनेले पाँच हजार रुपैयाँ पाउने छन् । 

    ‘जिल्लाको पूर्वाधार बिकाससँगै पर्यटन प्रवर्द्धन गर्न म्याराथन प्रतियोगिता आयोजना गर्न लागेका हौँ’, क्लबका कार्यक्रम निर्देशक रिमालले भन्नुभयो, ‘कार्यक्रमले यहाँको पर्यटन विकासमा थप टेवा पुर्याउने विश्वास लिएका छौँ ।’

    लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना हुने ‘रेडपाण्डा म्याराथन’ मा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको समेत सहभागिता रहने रेडपाण्डा नेटवर्कका कार्यक्रम निर्देशक वाङचु भुटियाले जानकारी दिनुभयो । 

    म्याराथन प्रतियोगिताका लागि सन्दकपुर गाउँपालिकाले मार्ग अन्तर्गतको सडक मर्मत सुरु गरेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयो । ‘पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हाम्रै पालिकामा म्याराथन प्रतियोगिता हुँदैछ’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘यसले सन्दकपुर गाउँपालिकाको मात्र नभई समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्नेछ ।’ 

    सन्दकपुर गाउँपालिका-२ मा पर्ने सन्दकपुर डाँडा इलामको सबैभन्दा अग्लो उचाइ तीन हजार ६ सय ३६ मिटर उचाइमा पर्छ । सन्दकपुर डाँडाबाट सूर्योदयको दृश्यावलोकनसँगै विभिन्न चार वटा देश नेपाल, भारत, भुटान र चीनका हिमालहरू देख्न सकिन्छ । यसअघि रेडपाण्डा दिवसको अवसरमा भदौ ५ गते प्रतियोगिता तय गरिए पनि अन्तिम समयमा बर्सातका कारण स्थगित भएको थियो ।

    –रासस