१ पुष २०८२ मंगलबार | 16 Dec 2025 Tue

पालिकाको आफ्नै पञ्चवर्षे शिक्षा योजना



  • आफ्नै खबर
  •     (७ दिन अघि)
  • पाठक संख्या १२६
  • कञ्चनपुर/  शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकास गर्ने लक्ष्यलाई अघि सार्दै पञ्चवर्षे शिक्षा योजना तर्जुमा प्रक्रिया अगाडि बढाएको छ । नगर शिक्षा समितिको बैठकले विस्तृत अध्ययन, समीक्षा र स्थानीय आवश्यकता पहिचान गर्दै रणनीतिक योजना तयार गर्ने उद्देश्यसहित तर्जुमा समिति गठन गरेको हो ।

    नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरलाई पञ्चवर्षे शिक्षा योजनातर्जुमा समितिको संयोजकमा नियुक्त गरिएको छ ।

    ऐरको संयोजकत्वमा अब बन्ने योजनाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका चुनौती, आवश्यकता, पूर्वाधार, जनशक्ति, सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरका सूचकलाई समेटेर व्यवहारिक र परिणाममुखी शिक्षा खाका तयार गरिने भएको छ । 

    समितिमा निजी विद्यालयका तर्फबाट डम्बर दत्त अवस्थी, सामुदायिक विद्यालयका प्रधानाध्यापकबाट पीताम्बर जोशी र धनसिंह महरा सदस्यका रूपमा तथा नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्ट सदस्य-सचिवका रूपमा रहनेगरी नियुक्त गरेको छ । 

    समितिले नगरभरिका विद्यालयको अवस्था, विद्यार्थी सङ्ख्या, शिक्षक व्यवस्थापन, पूर्वाधार, सिकाइ उपलब्धि, शैक्षिक चुनौती तथा अभिभावकको अपेक्षाबारे विस्तृत तथ्य सङ्कलन गर्ने नवनियुक्त तर्जुमा समितिका संयोजक ऐरले बताउनुभयो । 

    नगरका सबै विद्यालयमा समान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितता, विद्यार्थीमैत्री वातावरण, आइसिटिमा आधारित सिकाइ र शिक्षकको क्षमता अभिवृद्धि, कमजोर विद्यालय पहिचान गरी सुधारका कार्यक्रम, बालविकासदेखि माध्यमिक तहसम्म शैक्षिक पूर्वाधारको नक्साङ्कनको कार्य अगाडि बढाइने उहाँले उल्लेख गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘योसँगै छात्रवृत्ति, पोषण, विशेष शिक्षा तथा समावेशी शिक्षातर्फ लक्षित कार्यक्रम र विद्यालय व्यवस्थापन समितिको भूमिकालाई सशक्त बनाउन कार्ययोजना तर्जुमाको कार्य गर्छौं ।’ 

    संयोजक ऐरका अनुसार पञ्चवर्षे शिक्षा योजनाले नगर शिक्षाको भविष्यको मार्गचित्र तय गर्नेछ । उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा देखिएका कमजोरी, समग्र आवश्यकता र स्थानीय आवाजलाई प्राथमिकतामा राखेर दीर्घकालीन, व्यावहारिक तथा प्रगतिमुखी योजना बनाउने लक्ष्य लिएका छौँ ।’

    –रासस