आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

‘बोकेरै पानी, गयो जवानी…’


  • आफ्नै खबर
  • २०८२ मंसिर २३, मंगलबार ३ महिना अघि
  • ४० पाठक संख्या
  • कालिकोट/  देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविच्छिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिका पाटा उजाड छन् । 

    गाउँ आउन केही वर्ष अगाडि मात्र नदीमा झुलुङ्गे पुल बनेको थियो । यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फको समथर बाटो हिँडेपछि नाक नै ठोकिने भीर आइपुग्छ । भीरबाट तलतिर हेर्दा आङ सिरिङ्ग हुने कहाली लाग्छ ।

    तिलागुफा नगरपालिका-२ स्थित यस भीरबाट लडेर देवारतोलीका ४२ वर्षीय चन्द्रबहादुर विश्वकर्माले तीन वर्ष अगाडि अकालमा झण्डै ज्यान गुमाउनुपरेको थियो । चामलको बोरा बोकेर भीरमा उक्लिँदै गर्दा उहाँ चिप्लिएर भीरमै अडि्कनुभएको थियो । गाउँले मिलेर उनलाई उद्धार गरे ।  

    उहाँले त्यो दिनको त्रासदी सम्झिदै भन्नुभयो, ‘चालमको बोरा लिएर साँझमा घर आउँदै थिएँ । आधाआधि भीरमा पुगेपछि चिप्लिएँ । झण्डै तिलानदीमा पुगेको । धन्न भीरमै अड्किएछु । भोलिपल्ट गाउँलेले देखेर उद्धार गरेछन् । टाउकामा चोट लागेछ । नेपालगञ्जमा गएर उपचार गर्दा सात लाख रुपैयाँ सकियो ।

    भीरको पुछारबाट  माथि उक्लन करिब झण्डै ४५ मिनेट बढी लाग्छ । यो भीरबाट कति बस्तुभाउ लडेर तिलानदीमा पुगे, पानी लिनजाँदा कति गाग्रा गाग्री गुल्टे, देवारतोलीवासी सम्झन चाहँदैनन् ।

    पछिल्लो समय गाउँलेले भीरको नाम नै ‘चन्द्रेभिर’ राखिदिएका छन् । तिला नदी पारी अर्थात् सुक्खा पहाडी क्षेत्र तिलगुफा-१ ढाटाक्किवासी अहिले पनि यही भीर माथिका जङ्गलमा घाँस दाउरा लिन आउँछन् । 

    भीर सकिने बित्तिकै केही समथरको जङ्गलमा सल्ला प्रजाति रहेको छ । जङ्गल सकिएपछि गाउँ आउन पुनः उकालो लाग्नुपर्छ । यही उकालोकै बीचमा सिमसार क्षेत्रमा पानीको सानो मुहान छ । पानी सङ्कलन गर्न ट्याङ्की बनाइएको छ ।

    महिलालाई गाउँका पुछारमा रहेको ट्याङ्कीबाट पानी भर्न घण्टौँ लाग्थ्यो । यत्तिकै सयम पानी लिएर घर आउँदा व्यतीत हुन्थ्यो । यहाँका स्थानीयवासी  हिउँदका समयमा मूल सुक्दा तिला नदीमा नै जान्थे ।

    देवारतोलीकी ६८ वर्षीया  सानी विकले कष्टकर ती दिन सम्झिदै भन्नुभयो, ‘पानी बोकेरै जवानी बित्यो । भीरबाट कति गाग्रा लडे भनिसक्नु छैन । थकान मार्ने र काखे बच्चालाई हेर्ने समय पानी खेप्दैमा सकिन्थ्यो । तिर्खा मेटाउने गरेर पानी पिउन सक्ने अवस्था थिएन । बस्तुभाउलाई त पानी खुवाउन तिलानदीमै लैजानुपर्दथ्यो । सागसब्जी लगाउन त परै जाओस् ।’ 

    पछिल्ला केही दिनयता देवारतोली गाउँका महिलाको दैनिकी परिवर्तन भएको छ । हिजोजस्तै उनीहरु साँझ बिहान नत गाग्री बोकेर हिँड्छन् नत पानी भएन भनेर चिन्तित हुन्छन् । बालबालिका समयमै विद्यालय जान पाएका छन् । आँगनका डिलमुनिका बारीमा खेर गएका पानीबाट सागसब्जी लगाउन थालिएको छ ।  

    घरका आँगनआँगनमा जडान गरिएका धाराबाट पानी खस्न थालेका छन् । दलित समुदायको करिब ४५ घरमा करिब तीन सय जनसङ्ख्या रहेको यो गाउँमा वर्षाैँपछि खुसीका दिन आएको हो ।

    उहाँले भन्नुभयो, ‘आँगनमा धाराबाट पानी झरेको दिन खुसीले रातभर निद्रा लागेन । धारा नै हेरिरहुँ जस्तो भइराखेको छ । बल्ल पानीको चिन्ता हट्यो । अब त सागसब्जी खान पाइने भयो । बस्तुभाउलाई खुवाउन समस्या नहोला । आलु लगाउन पाइएला ।’ उब्जनीले वर्ष दिन खान नपुगेपछि यहाँका पुरुष कामको खोजीमा अन्यत्र जाने गर्दछन् ।  

    नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ ले यहाँका गाउँमा ‘एक घर एक धारा’ निर्माणमा सहयोग गरेको हो ।

    लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ उक्त कार्यक्रम सञ्चालित छ । देवारतोली खानेपानी योजना समितिका अध्यक्ष हरिश्चन्द्र विक गाउँमा अब खानेपानीको सङ्कट अन्त्य भएको बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, ‘गाउँभन्दा करिब चार किलोमिटर माथिको जङ्गलको मुहानबाट पानी ल्याएर ट्याङ्कीमा सङ्कलन गरेका छौँ । ट्याङ्की बनाउनदेखि घरघरमा धारा बनाउन नगरपालिका र रेडक्रसले सहयोग गर्यो । यसमा हाम्रो खुसीको सिमा छैन ।’ उहाँका अनुसार गाउँका धारामा समान रुपमा पानी वितरण गरिएको छ ।  

    समितिका सदस्यसमेत रहनुभएका चन्द्रबहादुरले भन्नुभयो, ‘भीरबाट लडेर पनि बाँच्नु त आँगनमा धाराबाट पानी आएको देख्न पो रहेछ । यसका लागि नगरपालिका र रेडक्रसलाई धन्यवाद दिन्छु ।’

    तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्याय देवारतोलीका सबै घरमा ‘एक घर एक धारा’ निर्माण गरेर खानेपानीको पहुँच पुर्याउने आफ्नो ध्येय रहेको र यो ध्येयले सफलता पाएको बताउनुहुन्छ ।

    नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले विपन्न समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमलाई रेडक्रसले प्रवर्द्धन गरिराखेको जानकारी दिनुभयो ।

    ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ का जिल्ला संयोजक रवि लामिछाने स्थानीय समुदायको मागअनुसार कार्यक्रमले गाउँका ४५ घरमा ‘एक घर एक धारा’ निर्माण तथा ‘चन्द्रेभीर’ मा रेलिङ बनाउन स्थानीय समुदायलाई सहयोग गरेको बताउनु हुन्छ । 

    उहाँले भन्नुभयो, ‘देवारतोलीमा चरम खानेपानीको सङ्कट समाधान भयो । समुदायको मागअनुसार नै चन्द्रेभीरमा रेलिङ निर्माण गरिएको छ । अब भीरमा लडेर अकालमा गाउँवासीको ज्यान जाँदैन ।’

    सोही कार्यक्रमले नगरपालिकासँगको सहकार्यमा तिलागुफा-३ बदमबाडा टोलका ४८ घरमा ‘एक घर, एक धारा’ निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेको छ ।

    दलित टोल बदमबाडा खानेपानी उपभोक्ता समितिका सदस्य एवं कालिका माविका शिक्षक धीरेन्द्र पाण्डेले भन्नुभयो, ‘खानेपानीको चरम सङ्कट भएर गाउँबाट बसाइसराइ बढ्दै थियो । यस्तो अवस्थामा नगरपालिकाले रेडक्रससँगको सहकार्यमा ‘एक घर एक धारा’ को सुविधा पुर्याएको छ । महिलाको समय बचत भएको छ । बालबालिकाले पढ्ने समय पाउँदा शैक्षिक गुणस्तरसमेत वृद्धि भएको देखिएको छ ।’

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु