म्याग्दी/ हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकलाई सुरक्षाकर्मीको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार गरेको छ ।
म्याग्दीदेखि मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’मा हिउँले बाटो पुरिएपछि समस्यामा परेका पर्यटक उद्धार गर्न मुस्ताङ तर्फबाट सुरक्षाकर्मी टोली परिचालन भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटकहरू सोमबार रातिदेखिको वर्षा र हिमपातका कारण पैदलमार्ग पुरिएपछि फर्कन नसकेर समस्यामा परेका थिए ।
शसस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट प्रहरी निरीक्षक बिनोद पौडेलको नेतृत्वमा गएको सात जना शसस्त्र, तीन जना जनपद प्रहरी र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोलीले पर्यटकको उद्धार गरेको हो ।
गुल्मपति प्रमुख प्रहरी नायव उपरीक्षक लिलाबहादुर भुजेलले १७ विदेशी सहित ७२ जना पर्यटकलाई आधार शिविरबाट उद्धार गरेर बिहीबार बिहान हुमखोला झारिएको र उनीहरू सकुशल रहेका जानकारी दिनुभयो ।
‘हिउँले पदमार्ग पुरिएपछि बाटो बिराएका २० जनालाई डोरीको सहायताले उद्धार गरिएको छ’, उहाँले भन्नुभयो, ‘उद्धार टोलीले पदमार्गमा थुप्रिएको हिउँ पन्छाएर सबै पर्यटकलाई सुरक्षित ठाउँमा ल्याएको छ ।’
अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग खाली बनाएर सबै पर्यटकलाई सकुशल सुरक्षित ठाउँमा ल्याइएको प्रनाउ भुजेलले जानकारी दिनुभयो । वर्षा, हिमपात र मौसम खराब भएपछि समुद्री सतहदेखि चार हजार एक सय ९० मिटर उचाइको आधार शिविर भ्रमणमा गएका पर्यटकहरू बास बसेकै ठाउँमा रोकिएका थिए ।
हुमखोला, फुतफुते, साधीखर्क, गुफाफाँट, भुसकेत मेला र पञ्चकुण्डको होटलमा बसेका पर्यटकहरु सुरक्षाकर्मीको सहायतामा फर्किएका छन् । मङ्गलबार दिनभर हिमपात भएको उक्त क्षेत्रमा बुधबार मौसम सफा भएको थियो भने बिहीबार बिहानदेखि पुन हिउँ पर्न थालेको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले हिमपात र वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमको आँकलन गरेर सोमबार देखि कात्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको बताउनुभयो ।
खोप्रालेक, घोडेपानी, पुनहिल, मोहरेडाँडा लगायत क्षेत्रको भ्रमणमा नजान र सतर्कता अपनाउन प्रशासन तथा अन्नपूर्ण गाउँपालिकाले सार्वजनिक सूचना मार्फत अपिल गरेका छन् ।
यसैगरी, म्याग्दीको धवलागिरी-४ मुदीमा पर्ने धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा जाने क्रममा समुन्द्री सतहदेखि पाँच हजार एक सय मिटर उचाईको ‘हिडन भ्याली’मा समस्यामा परेका तीन जना बेलायतका महिला पर्यटक र १२ जना नेपाली पथप्रदर्शक तथा मजदुरहरूको उद्दारका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।
जोमसोमबाट बुधबार गएको नेपाली सेना, शसस्त्र र जनपद प्रहरीको तालिमप्राप्त सुरक्षाकर्मीको टोली बिहीबार बिहान समुद्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा अवस्थित मार्फाको आलुबारी पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुषालले बताउनुभयो ।
‘पर्यटकको टोली हिडन भ्यालीबाट धम्पुल लेकमा आइपुगेको जानकारी पाएका छौँ’, उहाँले भन्नुभयो, ‘सुरक्षाकर्मीको टोलीले बाटो बनाउदै लेकतर्फ गइरहेको छ । मौसमले साथ दिएमा दिउँसोसम्म सुरक्षाकर्मी र पर्यटकको भेट हुने अनुमान गरेका छौ ।’
जोमसोमस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालयका सेनानी प्रशान्त बिष्टको नेतृत्वमा १५ तालिमप्राप्त सुरक्षाकर्मीहरू उद्धारमा परिचालन भएका हुन् ।
–रासस
प्रतिक्रिया दिनुहोस