आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

जलजलाको प्रवर्द्धनमा पालिकाको प्रयास


  • आफ्नै खबर
  • २०८३ जेष्ठ १०, आईतबार १ हफ्ता अघि
  • ५५ पाठक संख्या
  • म्याग्दी/  ठुलो पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना उजागर गर्ने र समस्या पहिचान गरी त्यसलाई सुल्झाउने प्रयास सुरु गरिएको छ ।

    म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलाको सम्भावना उजागर, समस्या समाधानका लागि साझा मुद्दा तय गरी जिल्ला, प्रदेश, सङ्घीय तहमा पहल गर्ने उद्देश्यले आइतबारदेखि दुई दिने पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ ।

    समुद्री सतहदेखि तीन हजार चार सय १८ मिटर उचाइमा रहेको र ढोरपाटन सिकार आरक्षमा समेटिएको जलजला म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं. २ को भूगोलमा पर्छ ।

    धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले ढोरपाटन र जलजलाबाट म्याग्दीले लाभ लिने वातावरण सृजना गराउने उद्देश्यले म्याग्दीका जनप्रतिनिधि, निजी क्षेत्र, स्थानीय सरोकारवालाको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

    उहाँले थप्नुभयो, ‘बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरीया–मरेनी– जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि सृजना भएको अवसरको सदुपयोग र देखिएका समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको हो ।’

    उहाँका अनुसार सङ्घीय, प्रदेश सांसद, म्याग्दीका ६ वटै स्थानीय तह, जलजलासँग सरोकार राख्ने बागलुङको ढोरपाटन, पूर्वीरुकुमको पुथाउत्तरगङ्गाभुमे गाउँपालिकाका जनप्रतिनिधि, अगुवा र विज्ञहरूको उपस्थितिमा बृहत् छलफल गरी साझा धारणा र योजना तय गरिनेछ ।

    कार्यक्रममा सहभागी हुन अतिथिहरू जलजला पुगिसकेका छन् । सोमबार बिहान जलजला घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरिने तय भएको छ । गुर्जा, धवलागिरि, चुरेन, पुथा, अन्नपूर्ण हिमालको काखमा समथर भूगोलमा रहेको जलजला ढोरपाटन सिकार आरक्षको ‘भ्यूप्वाइन्ट’ हो ।

    नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको दुईवटा मनसुनबार्से ब्लकसहित १३ प्रतिशत भूगोल म्याग्दीमा परे पनि सलामी दस्तुर नपाएको र गुर्जाघाटलगायत ठाउँमा रहेको सीमा विवादको समस्या समाधानका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराइने धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘गत फागुनमा मार्ग खुलेको बेनीदेखि एक सय २२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकलाई स्तरोन्नति गरी मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रूपमा विकास गराउन प्रदेश र सङ्घीय सरकारलाई दबाब दिन म्याग्दीको साझा मुद्दा तय हुनेछ ।’

    जलजला घुुम्न आउने पाहुनाहरूको सुविधा र सहजताका लागि पूर्वाधार तयार पार्न र सिकार आरक्ष वरपरका बस्तीका नागरिकले प्राकृतिक स्रोतसाधनको उपभोगमा भोगेको समस्या समाधानका लागि दबाब दिनलाई पनि सम्बन्धितस्थलमै कार्यक्रम गरिएको उहाँको भनाइ छ ।

    समथर पाटनको शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउनु जलजला उपत्यकाको विशेषता हो ।

    समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गराउँछ जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।

    बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विशेषता हो ।

    गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । म्याग्दीको लुलाङका फुलबहादुर विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आउनुभएको छ ।

    च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैँसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैँ बन्दोबस्तीको सामान लगेर जानुपर्छ ।

    ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा) को बासस्थान भएकाले थप महत्त्व रहेको छ ।

    दुवैतर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि ६ घण्टा लाग्छ । जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । यस वर्ष धवलागिरि गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरेको छ । आवास र खानेपानी अभाव जलजलाको मुख्य समस्या बनेको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु