आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

पर्यटनमा लामो बिदाको प्रभाव : होटल भरिभराउ भएपछि बास नपाएर फर्किए पर्यटक


  • आफ्नै खबर
  • २०८३ जेष्ठ १६, शनिबार ४ दिन अघि
  • ६२ पाठक संख्या
  • बागलुङ/ लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय पर्यटकहरू होटलमा कोठा नपाएर फर्कनसमेत परेको छ ।

    बिहीबारदेखि बिदा भए पनि बुधबारबाटै ढोरपाटनका होटल भरिएका थिए । एकै दिन सयौँको सङ्ख्यामा पर्यटक आउँदा होटल व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताउनुभयो । ढोरपाटनमा २७ वटा होटल र १२ वटा घरबास (होमस्टे) छन् ।

    पछिल्लो समय ढोरपाटनको प्रचार व्यापक हुँदा एक/दुई दिन बिदा हुँदा साथ पर्यटक आउने गरेको अध्यक्ष पुनले बताउनुभयो । गत जेठ १२ गतेबाटै सम्पर्क गरेर आएका पाहुनालाई होटल व्यवसायीले राखे पनि अरूले बास पाउन नसकेको उहाँको भनाइ छ ।

    ‘एकै पटक लामो बिदा भएर होला पाहुना थामिनसक्नु आउनुभएको छ । वरपरका खाली घरहरु पनि भरिएका छन् । होटल, होमस्टे कुनै पनि खाली छैनन्’, अध्यक्ष पुनले भन्नुभयो, ‘मेरो सम्पर्कमा आएकै करिब एक सय जना पर्यटकले बास नपाएर फर्किनुभयो । अरू व्यवसायी साथीहरुको सम्पर्कमा आउनुभएका पाहुना पनि धेरैनै फर्किनु पर्यो । अब ढोरपाटन आउने पाहुनाले होटलको अवस्था बुझेर मात्रै आउन आग्रह गर्छौँ ।’

    ढोरपाटनमा एक रातमा सात सय जना पाहुना राख्न सक्ने होटल तथा होमस्टेको क्षमता छ । तर, त्योभन्दा झन्डै दोब्बर बढी पर्यटक आउँदा होटल व्यवस्थापन गर्न समस्या भएको होटल व्यवसायी शिवराज कँडेलले बताउनुभयो । अरू बेला पनि पर्यटक आइरहेको भन्दै अहिले बिदाले गर्दा एकै दिन हजार बढी पर्यटक ढोरपाटनमा आएको उहाँको भनाइ छ ।

    आफूले ८० जना पाहुना राखेको सुनाउँदै दुई सय जनालाई अन्य होटलमा पठाउनु परेको उहाँले बताउनुभयो । यतिबेला पर्यटकको भीडभाड हुँदा ढोरपाटनमा मेला लागेजस्तो भएको उहाँको भनाइ छ । आएका पाहुनालाई फर्काउने चाहना नहुँदा नहुँदै पनि फर्काउन बाध्य भएको कँडेल बताउनुहुन्छ ।

    पछिल्लो समय बुर्तिबाङ–ढोरपाटन सडक व्यवस्थित बनेपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको हो । बुर्तिबाङ बजारदेखि करिब एक घण्टामै ढोरपाटन पुग्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दै गएको छ । गत वर्षसम्म सडकको दुरावस्था थियो ।

    गुल्मीबाट शुक्रबार दिउँसो ढोरपाटन घुम्न पुग्नुभएका महेश खड्काले होटल नपाएपछि बुर्तिबाङ बजार झरेर बस्नु परेको सुनाउनुभयो । १३ जनाको समूहमा तीन दिन घुम्ने योजनासहित आएको भन्दै होटलमा बास नपाएपछि एकै दिनमा फर्किनु परेको गुनासो गर्नुभयो । बिहीबार ढोरपाटन पुगेकाहरूले मात्रै होटल पाएको खड्काले बताउनुभयो ।

    ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यो याममा बेँसी क्षेत्रमा गर्मी हुने हुँदा ढोरपाटनमा शीतलता खोज्दै धेरै पर्यटक आउने गरेको बताउनुभयो । एकै पटक पर्यटक आउँदा खाना, बस्न र अन्य व्यवस्थापनमा समस्या हुने भन्दै होटल व्यवसायीसँग सम्पर्क गरेर मात्रै ढोरपाटन आउन कायतले आग्रह गर्नुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु