२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

हेल्थ कार्ड : किन चाहिन्छ, कसरी पाइन्छ ?



  • आफ्नै खबर
  • १७ फागुन २०८० बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या २६४
  • हामी गोत्रमै ऋषिलाई ग्रहण गर्नेहरु हौ अर्थात् ‘सोच र खोज’ लाई मन मस्तिष्कमै अङ्गीकार गर्नेहरु हौं । उसै पनि प्रकृतिले जे जति दिएको छ त्यसमा नयाँ सोच्ने, खोज्ने र दिनेहरुबाट गरिएको आविष्कार नै जीवनयापन गर्नका लागि हामीले प्राप्त गरेको  पुरस्कार हो । नयाँ नयाँ विषय आफैंले विकास गर्न नसक्दा पनि अरुले अघि सारिसकेको र ठिक्क पारिसकेको आविष्कारलाई नै आफू अनुकुल संशोधन गरेर अनुकरण गर्न सक्यो भने जीवन थप जगमग बन्ने निश्चित छ । यसैलाई मध्यनजर गरेर र यसको महत्त्व बुझेर गोकर्णेश्वर नगरपालिकाले देशमै पहिलो पटक आफ्ना नागरिकलाई हेल्थकार्ड वितरण सुरु गरेको छ । 

    के हो हेल्थ कार्ड ?
    हेल्थ कार्ड एक यस्तो सोचाइ हो जसमा नागरिकले आफ्नो स्वास्थ्यसम्बन्धी आवश्यक पृष्ठभूमि तथ्यांकमा बिरामी परी उपचार गराउँदै जाँदा उत्सर्जित रेकर्डलाई सफ्टवेयर प्रणालीमा सम्बन्धित स्वास्थ्य संस्थाले राख्दै र कतिपय तथ्यांक आफैले पनि थप्दै जाँदा बन्ने ब्यक्तिगत स्वास्थ्यस्थिति जानकारीलाई क्युआर कोडबाट जोड्न सक्ने माध्यम हो ।  

    क–कस्ले प्रयोगमा ल्याउन सक्छन् ?
    पहिलो त, उपचार गर्ने जुनसुकै  स्वास्थ्य संस्थाहरुले यस्तो कार्ड प्रयोगमा ल्याउन सक्छन् । त्यो बाहेक नागरिकको स्वास्थ्यमा ख्याल राख्ने जिम्मेवारी पाएका स्थानीय सरकार, प्रदेश वा सङ्घीय सरकारले पनि यस्लाई अघि सार्न सक्छन् ।

    डा सुवास प्याकुरेल

    त्यस्तै उपचार खर्चको भरण र भुक्तानी गरिदिने निकायहरु जस्तै रोजगारदाता, बीमा, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, असोशिएशन र ट्रेड युनियन आदिले पनि यस्लाई प्रयोगमा ल्याउन सक्छन् । त्यसैगरी विद्यार्थी रहने स्कुल, कलेज आदिले यस्लाई आ–आफ्ना कोणबाट प्रयोग गर्न सक्छन ।

    सवै निकायले छुट्टाछुट्टै हेल्थ कार्ड बनाउनुपर्ने हो ?
    होइन, यसले बैंकले एउटै कार्डबाट धेरै काम गर्न र धेरैतिरबाट एकै ठाउँमा सुरक्षित तवरले सेवा दिएजस्तै नागरिकको एक युनिक नम्बर तयार गरि त्यसैलाई केन्द्रमा राखी काम गर्दछ । एक अर्काको सफ्टवेयरसँग कनेक्सन गराउन सक्ने अर्को सफ्टवेयर (एपीआई)ले कालान्तरमा देशब्यापी नेटवर्क तयार हुन सक्दछ ।

    ‘गोकर्णेश्वर हेल्थ कार्ड’का विशेषता 
    यस कार्डमा प्रथमतः ब्यक्तिगत विवरणलाई प्रष्ट हुने गरी सञ्चित गरिन्छ । जसले गर्दा भविष्यमा कुनै पनि दृष्टिकोणबाट व्यक्तिगत, समूहगत, क्षेत्रगत रोग वा स्वास्थ्यका तथ्यांक जुनसुकै स्वरुपमा छान्न र तान्न सकियोस् । यसरी सिर्जित प्रोफाइलबाट सफ्टवेयरले आफैं व्यक्तिको युनिक नम्बर उत्सर्जित गरीदिन्छ । त्यसभित्र प्रारम्भिक चरणमा उक्त व्यक्तिको सम्भव भएजति हेल्थ प्रोफाइल भरिन्छ ।

    इमर्जेन्सी पर्दा आवश्यक सूचना ब्लड ग्रुप, एलर्जी, ब्लड प्रेसर, सुगर, खाइराखेको औषधी, हस्पिटल भर्ना भएको र सर्जरी गरिएको जानकारी लगायत विशिष्ट स्वास्थ्य अलार्म जस्तै ‘म बोल्न सक्दिन’, ‘अल्जाइमरका कारण म भुल्ने गर्छु’, ‘केही परे यो नम्बरमा फोन गरिदिनु’ जस्ता जानकारीलाई ‘माइ हेल्थ प्रोफाइल’ भनेर क्यआर मार्फत जताबाट पनि हेर्न सकिन्छ । त्योभन्दा बढी डिटेल हेर्नका लागि प्रयोगकर्ताको स्वीकृति चाहिन्छ भने त्यससमा परिवर्तन गर्ने अधिकार कि प्रयोगकर्ता स्वयमसँग रहन्छ वा पालिकाले अथेन्टिकेट गरेका नगर अस्पताल, शहरी स्वास्थ्य केन्द्र, हेल्थ पोस्ट, वडा कार्यालयजस्ता निकायसँग मात्र रहन्छ ।

    कसरी र कहिले पाइएला? 
    यसलाई चरणबद्ध रुपमा काम गर्दै वर्गगत र वडागत रुपमा हस्तान्तरण गर्दै जाने गरी मिलाउनुपर्ने हुन्छ । हाम्रो बुझाइ र नगरप्रमुखको प्रतिबद्धतालाई विचार गर्दा आगामी ९ महीनाभित्र अधिकांश नगरबासीको हातमा यो पर्न सक्ने देखिन्छ । तर प्रारम्भमा प्राप्त कार्डमा आवश्यक हेल्थ रेकर्ड पूरै नहुन पनि सक्छ । समयक्रमसँगै पूर्ण स्वरुप ग्रहण गर्दै जाने चरित्रको हुने तथ्य भने सबैले बुझ्नु जरुरी छ । त्यस्तै, यो कार्डलाई भौतिकरुपमा भन्दा ‘प्रणालीको प्रवेशद्वार’ का रुपमा बुझ्नुका साथै सक्नेहरुले यस कार्डलाई भर्चुअल कार्डका रुपमा आफ्नो व्हाट्सेप, भाइबर, इमेल वा अन्य माध्यमबाट लिइ आफ्नो मोबाइलमै राख्न सकिन्छ । केही समयमा यस्को मोबाइल एप भर्सन पनि उपलब्ध हुने नै छ ।

    स्वास्थ्य क्षेत्रलाई सूचना प्रविधि, नवीन सोच तथा बीमाका माध्यमबाट स्तरोन्नति गर्दै बिरामी केन्द्रित बनाउने कार्यमा क्रियाशील डा. प्याकुरेल संघीय सरकार, स्थानीय सरकार बिकास साझेदार निकायलगायत सङ्घसंस्थामा आवद्ध छन् ।