३० जेठ २०८२ शुक्रबार | 13 Jun 2025 Fri

नाम परिवर्तनका लागि २ सयभन्दा बढी विद्यालय सम्पर्कमा



  • आफ्नै खबर
  • १३ बैशाख २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या ११९
  • काठमाडौं/  काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म २ सय ३ संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भन्ने जिकिर गर्दै आवेदन दिएका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिनुभयो । 

    प्रमुख पोखरेलका अनुसार नाम परिवर्तका लागि कामपाले गत चैत २१ गते सार्वजनिक सूचना गरेको थियो । सूचनामा विदेशी नाम भएका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम राख्न भनिएको थियो । 

    शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्थाबमोजिम महानगरले सो सूचना जारी गरेको थियो ।

    सूचनामा १ हप्ताको समय दिइएको भए पनि नाम परिवर्तनका लागि संस्थागत विद्यालय आउने क्रम जारी रहेकाले सूचना प्रकाशित भएको ३५ दिनसम्म पनि विद्यालयको आग्रहलाई स्वीकार गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । अहिले महानगरमा ५ सयभन्दा बढी निजी विद्यालय सञ्चालनमा रहेका छन् । 

    तोकिएको समयसम्म पनि सम्बन्धित विद्यालयले नाम परिवर्तनका लागि आलटाल गरे कानुनअनुसार कारबाही गर्ने कामपाले चेतावनीसमेत दिएको छ ।

    आफ्नै खबरले यस अघि महानगरले गरेको ताकेताको बारेमा समाचार प्रकाशन गरेको थियो ।