काठमाडौँ साहित्यकार तथा वरिष्ठ पत्रकार एवं रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेको असामयिक निधनप्रति प्रतिष्ठानले दुःख व्यक्त गरेको छ । चालिसेको ७४ वर्षको उमेरमा २०८२ जेठ १६ गते शुक्रबार निधन भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले जेठ १७ गते शनिबार शोक विज्ञप्ति जारी गरी नेपाली साहित्यका विशिष्ठ सर्जक एवं पत्रकार व्यक्त चालिसेको निधनले नेपाली साहित्य र पत्रकारिता जगतमा अपूरणीय क्षति पुगेको बताएको छ ।
लामो समय नेपाली पत्रकारितामा बिताउनुभएका चालिसेले गोरखापत्र दैनिकको प्रधान सम्पादक तथा गोरखापत्र संस्थानको अध्यक्ष समेत भएर संचार क्षेत्रको विकासमा योगदान दिनुभएको उल्लेख प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कुशल अनुवादक र सम्पादक रहनुभएका चालिसेका विविध विषयसंग सम्बन्धित समसामयिक, सामाजिक, सांस्कृतिक रचनाले नेपाली समाजको विकास र परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएको छ ।
नेपाली साहित्य फाँटमा कथा, उपन्यास, नियात्रा, आत्मसंस्मरण, नाटक र बालसाहित्य गरी दर्जनौं कृति प्रकाशन गर्नुभएका चालिसेको आमसंचार विषयका दर्जन बढी कृति प्रकाशित छन् ।
प्रतिष्ठानले भाषा, साहित्य र पत्रकारिता जगतलाई विशिष्ठ योगदान दिनुभएका कीर्तिशेष चालिसेको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस