आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

बत्ती बाल्ने महिना सुरु


  • आफ्नै खबर
  • २०८१ श्रावण १, मंगलबार १ साल अघि
  • ३० पाठक संख्या
  • बैतडी/  सुदूरपश्चिममा साउनलाई बत्ती बाल्ने महिनाका रुपमा मनाइन्छ । यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ पनि भनिन्छ । साउने सङ्क्रान्तिदेखि नै यहाँका मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको जानकार जयानन्द भट्टले बताउनुभयो । 

    साउनमा देवीदेवता बैकुण्ठमा शयन गर्ने विश्वासले यस महिनालाई कालो महिना भन्ने गरिन्छ । भट्टले भन्नुभयो, ‘साउनमा सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने विश्वास गरिन्छ, हरिशयनी एकादशीदेखि साउनसम्म भगवान् बैकुण्ठमा बस्ने गर्छन् ।’

    भगवान् शयन गरेका बेला बत्ती बाल्दा रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास छ । आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाइ गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप नष्ट हुने धार्मिक विश्वास रहिआएको छ । 

    बैतडीमा सातबैनी भगवती र सातभाइ केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी आउने गरेको दशरथचन्द नगरपालिका–२ का दीपेन्द्र बोहराले बताउनुभयो ।  

    जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार, सिगास, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ, ईश्वरी गङ्गाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार, भिटाकेदार मन्दिरमा साउनभर दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन् । 

    राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन पनि छ । जिल्ला बाहिर रहनेहरु पनि यस महिना पूजापाठका लागि जिल्ला भित्रिने गर्दछन् । 

    हर्यालो हालिँदै 
    आज खेतबारीमा रोगब्याधी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको हर्यालो हाल्ने चलन छ । कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नु नै हर्यालो हाल्नु हो । साउनमा देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर हर्यालो हाल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो । 

    साउने सङ्क्रान्तिका दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दानदक्षिणा दिने पनि गरिन्छ । यस्तै साउनमा खीर पकाएर खाने तथा चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ ।
    असार महिनाभर हिलोमा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतोआदि आउनसक्ने भएकाले जीउलाई सफासुग्घर गरी यस दिन लुतो फाल्ने गरिन्छ । गाउँघरमा यस दिन साँझ अँगेनामा कुरिलो र तीतेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने गरिन्छ । त्यसरी लुतो फालिसकेपछि जीउमा घाउ, खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ ।

    -रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु