आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

विपन्नका लागि १७ सय घर निर्माण


  • आफ्नै खबर
  • २०८१ श्रावण २६, शनिबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • झापा/  झापामा पछिल्लो ७ वर्षमा ‘सुरक्षित आवास कार्यक्रम’अन्तर्गत १ हजार ७ सय ४२ घर निर्माण भएका छन् । स्थानीय तह, ह्याविट्याट फर ह्युमानिटी इन्टरनेशनल नेपाल र सहारा नेपालको संयुक्त साझेदारीमा यहाँका ८ स्थानीय तहमा ती घर निर्माण गरिएका हुन् । 

    ‘सहारा नेपाल’का सुरक्षित आवास कार्यक्रम संयोजक भीमप्रसाद भेटवालका अनुसार २०७४ सालमा आएको बाढीबाट विस्थापितका लागि ७ सय २५ अस्थायी आवाससहित झापा र मोरङमा गरी २ हजार ९ सय ९८ घर निर्माण गरिएका छन् । त्रिपक्षीय साझेदारीमा निर्माण हुने सुरक्षित आवासका लागि निम्न आय भएका र आफ्नो घर बनाउन नसक्ने परिवारका लागि सुरक्षित आवास प्रदान गरिने संयोजक भेटवालले बताउनुभयो । 

    ‘सम्बन्धित स्थानीय तहको वडाले त्यस्ता लाभग्राहीको नाम छनोट गर्दछन्’, उहाँले भन्नुभयो, ‘वडाको सिफारिसका आधारमा ह्याविट्याट, सहारा नेपाल र स्थानीय तहको संयुक्त टोलीले अनुगमन गरेर मात्र नाम छनोट हुन्छ ।’ जग्गा भएकाको हकमा उनीहरुकै जग्गामा घर निर्माण गर्ने गरिन्छ भने जग्गा नभएकाको हकमा स्थानीय तहले जग्गा यकिन गरेर निस्सा उपलब्ध गराएपछि मात्र घर निर्माण गरिन्छ ।

    झापा र मोरङ जिल्लामा निर्माण भएका घरको ढाँचाअनुसार प्रतिघर लागत मूल्य जन श्रमदानबाहेक १ लाख ८५ हजार रुपैयाँदेखि ६ लाख २३ हजार रुपैयाँसम्म रहेको सहारा नेपालका राजु गिरीले जानकारी दिनुभयो । झापामा निर्माण भएका घर १६ फिट लम्बाइ र २० फिट चौडाइका रहेका छन् । बरण्डासहित दुई कोठा र एउटा भन्साकोठा तथा सबै घरमा शौचालय अनिवार्य गरिएको छ । मोरङ जिल्लामा निर्माण भएका घर १७.६७ फिट लम्बाइ र २२ फिट चौडाइका छन् । 

    झापा गाउँपालिकामा सबैभन्दा बढी ८ सय ५० घर निर्माण भएका छन् । गाउँपालिकाको सहकार्यमा निर्मित घरहरु हस्तान्तरण नभए पनि लाभग्राहीले बसोबास सुरु गरिसकेका छन् । हल्दीबारी गाउँपालिका ३२, बिर्तामोड नगरपालिकामा ५ सय १४, अर्जुनधारा नगरपालिकामा ५४, गौरीगञ्ज गाउँपालिकामा ८६, भद्रपुर नगरपालिकामा १५, बाह्रदशी गाँउपालिकामा ३३ र कनकाई नगरपालिका १ सय ५८ घर निर्माण गरिएका छन् । मोरङको बेलबारी नगरपालिकामा १ सय १, धनपालथान गाउँपालिकामा ३९ तथा कानेपोखरी गाउँपालिकामा ५५ घर निर्माण भएका छन् भने २८ घर निर्माणाधीन अवस्थामा रहेका सहारा नेपालले जनाएको छ ।  

    -रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु