आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

इच्छाकामनाले निर्माण गर्यो चिस्यान केन्द्र


  • आफ्नै खबर
  • २०८१ कार्तिक १६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • चितवन/  इच्छाकामना गाउँपालिकाले २० लाख रुपैयाँ लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपजलाई भण्डारण गर्नका लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको कृषि भवनमा गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेको हो ।

    चिस्यान केन्द्र अभावमा किसानले सस्तोमा सागसब्जी तथा फलफूल बेच्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले केन्द्र निर्माण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । किसानको माग र आवश्यकताका आधारमा भविष्यमा अरु पनि चिस्यान केन्द्र निर्माण गर्ने उहाँको भनाई छ । 

    अध्यक्ष गुरुङका अनुसार कृषिजन्य उत्पादनको सङ्कलन तथा बिक्रीका लागि कृषि भवन निर्माण गरिएको हो । उक्त भवनमा स्थानीय दुईवटा कृषि सहकारी र कृषि समूहसँग सहकार्य गरेर सागसब्जी बिक्रीको व्यवस्था मिलाइएको छ । 

    निकट भविष्यमा सहकारीमार्फत किसानलार्ई बीउबिजन मल र आवश्यक औजार सुपथ मूल्यमा उपलब्ध गराइने अध्यक्ष गुरुङले बताउनुभयो । कृषि भवनमा कोसेलीघर पनि सञ्चालन गरिने भएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु