आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

ओलाङ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै 


  • आफ्नै खबर
  • २०८१ मंसिर १६, आईतबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • गोरखा/  अजिरकोट गाउँपालिकाले विकट गाउँ ओलाङलाई पर्यटनमैत्री नमूना गाउँका रूपमा विकास गरेको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा पर्यटकीय पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । 

    गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाका अनुसार गाउँपालिका–२ स्थित ओलाङ गाउँलाई ‘पर्यटनमैत्री नमूना गाउँ प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नमूना गाउँका रूपमा विकास गर्न प्रारम्भ गरिएको हो । कार्यक्रमले बाँझो जमिनको पनि सदुपयोग गर्ने नीति लिएको उहाँले बताउनुभयो । यसले युवालाई स्वरोजगार बन्न सहयोग पुग्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । 

    उहाँले भन्नुभयो, ‘स्थानीयले रोजगारी र अवसर खोजिरहेका छन्, गाउँमै युवालाई रोजगारीको अवसर सृजना गर्दै आत्मानिर्भर बनाउन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यन्वयन गरिएको छ, ओलाङलाई अजिरकोट गाउँपालिकाको थप सुन्दर पर्यटकीय टोलको रुपमा विकास गर्ने हिसाबले लगानी गरिहेको छ ।’ 

    ओलाङमा ‘फुटट्रेल’ निर्माण, पर्यटनमैत्री संरचना निर्माणका साथै पर्यटक रमाउनसक्ने हिसाबले अन्य संरचना पनि निर्माण गरिएका छन् । पर्यटकको नयाँ गन्तव्यका रूपमा ओलाङ गाउँ विकास भइरहेकाले संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । तामाङ र गुरुङ समुदायको मात्र बसोबास रहेको यो गाउँलाई कृषि, पर्यटनसँगै स्थानीय समुदायको मौलिक परम्परा झल्कने संस्कृतिलाई जीवन्त राख्ने प्रयास गरिएको छ ।

    उहाँले भन्नुभयो, ‘ओलाङलाई पर्यटनमैत्री बनाउँदै स्थानीवासीको आयआर्जन वृद्धिका लागि गाउँपालिकाले काम थालेको हो, पर्यटनको केन्द्रका रूपमा ओलाङलाई विकास गर्न त्यहाँ परापूर्वकालदेखि चल्दै आएको भिरमौरीका मह झिक्ने मेलालाई ‘साहासिक पर्यटन’का रुपमा विकास गर्न खोजिरहेका छौँ।’

    ओलाङगाउँ पुग्ने पर्यटकले अब जैविक खानाको स्वाद लिन पाउनेछन् । गाउँपालिकाले ओलाङलाई नमूना गाउँका रूपमा विकास गर्ने योजनाअनुरुप यहाँको हावापानीको अध्ययन गरी ट्राउट माछापालन कार्यक्रमलाई पनि व्यवस्थित ढङ्गले अघि बढाएको छ । साथै ओलाङलाई तमु समुदायको संस्कार र संस्कृति अध्ययन गर्ने थलोका रूपमा पनि विकास गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

    पर्यटनमैत्री पदमार्ग निर्माण, पदमार्गहरुमा विश्रामगृह, विभिन्न ठाउँमा परम्परागत सांस्कृतिक संरचना निर्माणले पनि ओलाङ गाउँलाई थप सुन्दर बनाएको छ । गाउँलाई कृषिमा नमूना गाउँका रुपमा विकास गर्न किसानलाई व्यावसायिक सागसब्जीखेतीको तालिम दिएर खेतीका लागि ‘हाइटेक टनेल’ निर्माणको भएको छ ।

    गाउँ घुम्न आउने पर्यटकको स्वागत सत्कारका लागि घरबास व्यवस्थापन तालिम दिएर महिलालाई सक्षम बनाइएको गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले बताउनुभयो । कार्यक्रमअन्तर्गत ओलाङ गाउँमा २१ वटा योजना कार्यान्वयन भएका छन् ।

    –रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु